‘गौँथली’को बम्पर व्यापार, दिउँसो १ बजेसम्मै १ करोड ग्रस

काठमाडौं । चलचित्र ‘गौँथली’ले शनिबार डेढ करोड रुपैयाँ हाराहारी ग्रस कमाइ गर्ने देखिएको छ । आर्टखबरलाई प्राप्त बक्सअफिस विवरणअनुसार शनिबार दिउँसो १ बजेसम्म मात्रै चलचित्रले १ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

गत शुक्रबार रिलिज चलचित्रले पहिलो दिनदेखि नै उत्साहजनक व्यवसाय गरिरहेको छ । चलचित्रले शुक्रबार दिउँसो १२ बजेसम्म चार करोडको आंकडा कटाइसकेको थियो ।

शनिबार मात्रै १ बजेसम्म नै एक करोड २ लाख भन्दा बढी ग्रसकलेक्सन गरेपछि ‘गौँथली’ले नेपाली बक्सअफिसमा ठूलो परिमाणमा बक्सअफिस कलेक्सन गर्ने देखिएको छ ।

सोमबार चलचित्र विकास बोर्डले बक्स अफिस सार्वजनिक गर्दा १० दिने कमाइ ६ करोड नाघ्ने अनुमान गरिएको छ । योसँगै ‘गौँथली’ यस वर्ष हालसम्म प्रदर्शन भएका नेपाली सिनेमामा पहिलो हप्ता धेरै कमाइ गर्ने चलचित्र बनेको छ । त्यस्तै, पहिलो १० दिनमा धेरै कमाई गर्ने चलचित्र पनि ‘गौँथली’ बन्ने निश्चित देखिन्छ ।

डा. कपिल रिजालको निर्देशन रहेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।