बक्स अफिसमा ‘गौँथली’को दबदबा: १० दिनमै ७ करोडमाथि कमाइ, यस्तो छ अन्य चलचित्रको व्यापार
काठमाडौं । चलचित्र विकास बोर्डले नेपालभर प्रदर्शन भइरहेका स्वदेशी चलचित्रहरूको पछिल्लो आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ ।
सोमबार बोर्डले पछिल्लो आइतबारसम्मको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको हो ।
बोर्डको आधिकारिक ‘सिनेपा: बक्सअफिस’ प्रणालीमार्फत प्राप्त तथ्याङ्कअनुसार गत साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको देखिएको छ ।
चलचित्र ‘गौँथली’ले प्रदर्शनको १० औँ दिनसम्म आइपुग्दा देशभरका हलहरूबाट कुल २ लाख ६० हजार २५४ वटा टिकट बिक्री गर्न सफल भएको छ ।
यो चलचित्रले ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गरेको छ ।
दर्शकबाट उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाएको ‘गौँथली’ले प्रदर्शनको दोस्रो सातामा आइपुग्दा व्यापारमा अभूतपूर्व छलाङ मार्न सफल भएको छ ।
डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको यस चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
यस्तै, प्रदर्शनरत अर्को चलचित्र ‘रोल नं १’ ले पनि बक्स अफिसमा सन्तोषजनक प्रदर्शन गरिरहेको छ । सार्वजनिक विवरणअनुसार यो सिनेमाले हालसम्म ७१ हजार ४७३ थान टिकट बिक्री गर्दै १ करोड ७८ लाख ५१ हजार ६९८ रुपैयाँ आम्दानी गरेको छ ।
यसैबीच, चलचित्र ‘भागदौड’ को व्यापार भने निकै कमजोर देखिएको छ । बोर्डको तथ्याङ्कअनुसार यस चलचित्रले जम्मा ४४२ थान टिकट मात्र बिक्री गर्न सकेको छ । यसको कुल आम्दानी १ लाख १९५ रुपैयाँ ६४ पैसा मात्र रहेको छ ।
अन्य दुई चलचित्रको तुलनामा यस फिल्मले दर्शकलाई हलसम्म तान्न खासै प्रभाव पार्न नसकेको देखिन्छ ।
चलचित्र विकास बोर्डले फिल्म क्षेत्रमा पारदर्शिता कायम गर्न र आधिकारिक तथ्याङ्क उपलब्ध गराउन प्रत्येक साता यस्तो रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।


