भिडियो बनाएर चरित्रहत्या गरेको भन्दै गायक अशोक दर्जी पुगे प्रहरीमा
काठमाडौं । गायक तथा कलाकार अशोक दर्जीले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले नियोजित रूपमा भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाइएको भन्दै कानुनी उपचार खोजेका छन् ।
आफूलाई विनाकारण ‘चोर’को आरोप लगाएर कुटपिट गरिएको र सो दृश्यलाई ‘भाइरल’ बनाएर भविष्यमाथि खेलबाड गरिएको भन्दै उनले प्रहरीमा उजुरी दिएका हुन् ।
अशोकले सोमबार झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिँदै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
उजुरीमा उल्लेख गरिए अनुसार यो घटना एक महिनाअघिको हो । अशोकलाई दुईजना व्यक्तिले ‘एक हजार रुपैयाँ चोरेको’ भन्दै झुट्टा आरोप लगाएका थिए । आरोप लगाउने क्रममा उनीहरूले अशोकमाथि हातपात र कुटपिट समेत गरेको बताइएको छ ।
अशोकले उजुरीमा भनेका छन्, “करिब एक महिनाअघि माता मन्दिर छेउ बस्ने आफ्ना मावली हजुरआमा, आमा तथा परिवारका सदस्यलाई भेट्न उनी बिर्तामोड पुगेका थिए। सोही क्रममा साथीसँग महानन्द चोक गेट छेउमा नास्ता खाइरहेका बेला स्थानीय ‘काजी दाइ’ सिटी सफारी लिएर आएका र आफूलाई सँगै जान भनेका थिए । त्यसपछि ‘ओकिल’ नाम गरेका व्यक्तिले काजी दाइसँग १ हजार रुपैयाँ लिएर भित्री गल्लीमा गएको र पछि आफू स्कुटीमा काजी दाइसँग घर फर्किएको, तर उक्त घटनाको एक सातापछि बिर्तामोडको देवीबस्ती क्षेत्रस्थित पेट्रोल पम्पमा स्कुटीमा तेल हाल्दै गर्दा ओकिल, साङ्गे प्रधान र शान्तिनगर बस्ने फुच्चे भन्ने ३ जना मिलेर आफूलाई घेरी ‘चोर’ भन्दै हातपात गरेको उनीहरूले ‘हजार रुपैयाँ चोर्यो’ भन्दै हुलमुल गरी भिडियो खिचेका र उक्त भिडियो सामाजिक सञ्जालमा हालेर आफ्नो भविष्यमाथि खेलबाड गरे । मैले पटक–पटक यो भिडियो नखिच्न र खिचेको भए पनि हटाउन आग्रह गरेँ, तर उनीहरूले मेरो कुरा मानेनन् र उल्टै सामाजिक सञ्जालमा फैलाइदिए ।”
सानै उमेरमा संगीत क्षेत्रमा लागेर आफ्नो पहिचान बनाएका अशोकले उक्त भिडियोका कारण आफ्नो सामाजिक प्रतिष्ठा र आगामी करियरमा गम्भीर धक्का लागेको बताएका छन् । सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएपछि विभिन्न नकारात्मक टिप्पणीहरू आउन थालेको र यसले आफूलाई मानसिक तनाव दिएको उनको भनाइ छ ।
घटनाका विषयमा झापा जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले उजुरी प्राप्त भएको र अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको जानकारी दिएकी छिन् ।
अशोक दर्जी केही वर्षअघि ‘टंक बुढाथोकी’को साथमा सडकबाट एकाएक संगीतको क्षेत्रमा आएर देश–विदेशमा चर्चा बटुल्न सफल भएका थिए ।
टंक बुढाथोकीले निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘मन विनाको धन’ बाट अशोकले कलाकारको रुपमा डेब्यु समेत गरेका थिए ।



