‘गौँथली’ले पार गर्यो १० करोडको आँकडा, बन्यो यो वर्षकै हालसम्मको धेरै कमाउने चलचित्र
काठमाडौं । चलचित्र ‘गौँथली’ले १० करोडको आँकडा पार गरेको छ । प्रदर्शनको दुई साता पुरा नहुँदै यो चलचित्रले १० करोडको आँकडा पार गरेको हो ।
प्रदर्शनको १३औँ दिनको साँझ ७ बजेसम्म १० करोड ५ लाख ७ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यस अवधिमा तीन लाख ७५ हजार ९५५ जनाले हेरेका छन् ।
यो सँगै चलचित्र ‘गौँथली’ यो वर्षको हालसम्मको सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्र बनेको छ । यसले ‘लालीबजारको कलेक्सनलाई उछिन्दै वर्षको सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्र बनेको हो । ‘लालीबजार’ले ९ करोड ३२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आज पनि उच्च अकुपेन्सीमा चलेको छ । गएको शनिबार एकै दिन यो सिनेमाले १ करोड ८० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।


