‘लज्जावती’को ट्रेलरमा माया, धोका, संघर्ष र उतारचढाव
काठमाडौं । चलचित्र ‘लज्जावती’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेममा हुने माया, धोका, विछोडपछि जीवनमा आइपर्ने संघर्ष र उतारचढाव प्रस्तुत गरिएको छ ।
मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखाइएको छ भने श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेमिल जोडीका रूपमा प्रस्तुत भएका छन् ।
सुरुवातमा निकै रमाइलो देखिने उनीहरूको पारिवारिक सम्बन्ध र मित्रता समयसँगै विभिन्न कठिनाइ, अभाव र सामाजिक दबाबका कारण जटिल मोडमा पुगेको ट्रेलरमा देखाइएको छ ।
२९ साउनदेखि प्रदर्शनमा आउने सिनेमाका निर्देशक राजबहादुर साने हुन् । निर्देशक सानेकाअनुसार सिनेमाले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव र संघर्षलाई प्रस्तुत गरेको छ ।
सिनेमामा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलले अभिनय गरेका छन् ।




