बक्सअफिसमा ‘लज्जावती’को कन्तविजोग, पछिल्लो साताको कमाइ ७ हजार!

काठमाडौं । घरेलु बक्स अफिसमा चलचित्र ‘लज्जावती’को अवस्था भने निकै दयनीय देखिएको छ । करिब २ करोड रुपैयाँको लगानीमा निर्माण भएको भनिएको यो चलचित्रले हलमा दर्शक तान्न असफल मात्र भएन, लगानीको तुलनामा व्यापार शून्यप्रायः देखिएको छ ।

प्रदर्शनको सुरुवाती दिनदेखि नै कमजोर देखिएको ‘लज्जावती’को व्यापार तेस्रो सातासम्म आइपुग्दा नराम्रोसँग थलिएको छ ।

सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार यस चलचित्रले भदौ १४ गतेसम्म ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँ ग्रस कमाएको छ । साउन २९ गतेदेखि प्रदर्शनमा आएको चलचित्रको उक्त अवधिसम्म २ हजार ७ सय ३५ वटा टिकट बिक्री भएका छन् ।

गत आइतबार (भदौ ७ गते)सम्म चलचित्रले जम्मा ७ लाख ६८ हजार ४ सय ५० रूपैयाँ ग्रस कलेक्सन गरेको थियो । पछिल्लो एक सातामा ७ हजार रुपैयाँ कमाइ गरेको छ । यो व्यापार प्रदर्शनको तेस्रो हप्ताको हो ।

चलचित्रको यो व्यापारिक आँकडाले बजारमा ‘लज्जावती’ नराम्रोसँग पछारिएको पुष्टि गर्दछ ।

आहा फिल्म्स र क्यानी मल्टिभिजन आइएनसीको सहकार्यमा निर्माण भएको ‘लज्जावती’का लेखक तथा निर्देशक राजबहादुर साने हुन् ।

चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, धिरेन शाक्य, जानुका विश्वकर्मा, मेनुका माझी, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेललगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।