‘गौँथली’को टिकट छैन हलमा, ओभर फ्लो दर्शक विदेशी सिनेमालाई

काठमाडौं । १३ दिनमा नै १० करोडको आकडा पार गरेको चलचित्र ‘गौँथली’को १७ औँ दिनमा पनि व्यापार उस्तै छ । देशभरका शो हाउसफूल छन् । आइतबार दिउँसोका शो बिहानै र अबेर साँझका शो दिउँसो चाँडै हाउसफूल भए ।

अग्रिम बुकिङबाटै शो हाउसफूल भएपछि डोर सेलमा टिकट दर्शकले पाएनन् । हलमै गएर टिकट काटेर ‘गौँथली’ हेर्न पुगेका दर्शक निराश भएर फर्किन बाध्य भए । सबै हलका अधिकांश शो हाउसफूल हुँदा एउटा हलमा टिकट नपाएका दर्शक अर्को हलमा गएर पनि सिनेमा हेर्न नपाएको वितकर करण श्रेष्ठ बताउँछन् ।

“आज सबैतिर ‘गौँथली’ हाउसफूल भयो । जति दर्शकले सिनेमा हेर्नु भयो त्यति नै संख्यामा त दर्शक टिकट नपाएर फर्किनु भयो । हाम्रो सिनेमाको ओभरफ्लो दर्शक अरु सिनेमाले पाए,” वितरक श्रेष्ठ अगाडि भन्छन्, “प्रायः बलिउडका ठूला सिनेमा नेपाल आउँदा ओभरफ्लो दर्शक तान्न नेपाली सिनेमा लगाउँछन् भनिन्छ, तर यसपटक उल्टो भयो । ‘गौँथली’ हेर्न टिकट नपाएका दर्शक अरु सिनेमा हेर्न गएको पाइयो ।”

निर्देशक डा. कपिल रिजाल आइतबार अधिकांश शो टिकट फिलिङ फास्टमा गएको बताउँछन् । दर्शक टिकट नपाएर फर्किएको उनको गुनासो छ ।

“हाम्रो चलचित्र प्रायः हलमा डोर सेल टिकट बिक्री हुने सिनेमा हो । तर, अग्रिम बुकिङमै टिकट नपाउँदा दर्शक निराश भएर फर्किएको देखियो,” निर्देशक रिजाल भन्छन्, “हामी हाम्रा दर्शकलाई क्षमा माग्दै पुनः सहज समय र स्थानमा सिनेमा हेर्न अपिल गर्छौं ।”

अधिकांश हलमा एउटा पनि टिकट बाँकी नरही हाउस भएर सिनेमा चलेको उनको भनाइ छ ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आज पनि उच्च अकुपेन्सीमा चलेको छ । गएको शनिबार एकै दिन यो सिनेमाले १ करोड ८० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।

डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।