अनमोल र पलभन्दा बक्सअफिसमा अरुण अगाडि

काठमाडौं । नेपाली सिनेमा उद्योगमा चकलेटी अनुहारमा सबैभन्दा बढी लोकप्रिय को छ ? समग्रमा यसको निर्धारण विभिन्न कोणबाट होला । तर, बक्सअफिसमा भने अरुण क्षेत्री अगाडि बढेका छन् ।

अनमोल केसी, पल शाह, प्रदीप खड्का, धिरज मगर, आशिर्वाद क्षेत्री, सलिनमान बानियालगायत कलाकारहरूको भीडमा सबैलाई पछि पार्दै अरुण अगाडि लागेका छन् ।

चलचित्र ‘गौँथली’बाट अरुणले अरु कलाकारलाई पछि पार्दै अगाडि लागेका हुन् । अब उनले समीर भट्टलाई उछिन्न भने बाँकी छ । तर, उनी एक्सनका लागि आफ्नो छवि बनाइरहेका छन् ।

पल शाहको ‘आ बाट आमा’ले १३ करोड २० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । अनमोल केसीको चलचित्र ‘जेरी अन टप’ले १२ करोड २८ लाख ग्रसकलेक्सन गरेको थियो ।

त्यसैले पल र अनमोलभन्दा अरुण बक्सअफिसमा अघि देखिएका छन् । अरुणको चलचित्र ‘गौँथली’ले १३ करोड ६४ लाख ग्रसकलेक्सन गरिसकेको छ । यो चलचित्र अझै हाउसफू अकुपेन्सीमा चलिरहेकाले यसले अझै धेरै कलेक्सन गर्ने निश्चित छ । त्यसैले उनले समीरसँग पनि प्रतिस्पर्धा गर्ने निश्चित छ ।

अब नेपाली सिनेमा उद्योगमा चकलेटी अनुहारमा तत्कालका लागि अरुण, समीर, अनमोल र पलबीच प्रतिस्पर्धा देखिनेछ ।