फ्राइडे रिलिजमा ‘हली’ र ‘कमला मिस’ हलमा
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘हली’ र ‘कमला मिस’ प्रदर्शनमा आएका छन् । यी दुवै सिनेमाले निकै न्यून शो पाएका छन् । ‘स्पाइडर म्यान’ र ‘गौँथली’का कारण यी चलचित्रले धेरै शो पाउन सेकनन् ।
सुदूरपश्चिम र मध्यपश्चिम नेपालमा व्याप्त छाउपडी प्रथा र सामाजिक विभेदको गम्भीर विषयवस्तुलाई समेटेर ‘हली’ निर्माण भएको छ ।
ओम प्रतीकले निर्देशन गरेको ‘हली’मा सरोज खनाल, अरुणा कार्की, प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, विशाल पहाडी लगायतको अभिनय रहेको छ । निर्देशक ओम प्रतीक स्वयम् पनि मुख्य भूमिकामा देखिएका छन् ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ ।
चलचित्रलाई राहुल राईले छायांकन गरेका हुन् भने रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् । कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल हुन् ।
‘कमला मिस’लाई वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले निर्देशन गरेका छन् । आमाको माया र साथ गुमाएको बच्चाको अवस्था चित्रण गरिएको यो सिनेमा बालमनोविज्ञानमा आधारित छ ।
यो विजय मल्लको प्रख्यात नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित छ । चलचित्रमा नीर शाह आफैँ पनि मुख्य भूमिकामा देखिनेछन् भने उनीसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल लगायतका कलाकारहरूको मुख्य भूमिका छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेश बाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् । पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन् ।
चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर्देशक शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।




