दर्शकको चेतनाशक्ति बढिसकेको हेक्का होस्

कुनै समय नेपाली सिनेमा उद्योगमा स्थापित कलाकार बीचमा लामो समय हराए । एक समय ठूलो स्टारडम भएका कलाकार बीचमा ओझेल परे । ठिक त्यही समय नयाँ पुस्ताले आफूलाई स्थापित गर्‍यो ।

लामो समय विदेशमा बसेर फर्किएको अथवा नेपालमै रहे पनि सक्रिय नभएका कलाकार फेरि चलचित्रमा सक्रिय हुने प्रयास गरिरहेका छन् । चलचित्रमा कमब्याकको प्रयास गरिरहेका छन् ।

लामो समयको अनुभव र मेहनतले खारिएका कलाकार आउनु राम्रो हो । अग्रजको सम्मान सिनेमा उद्योगको दायित्व हो । त्यसैले नयाँ पुस्ताले उनीहरूलाई हृदयबाटै सम्मान गर्नुपर्छ ।

तर, मुख्य पक्ष कुनै समयको योगदान र अनुभवले मात्रै कमब्याक हुँदैन । त्यो मात्रै कमब्याकका लागि पर्याप्त छैन । आफूलाई समयानुकूल परिवर्तन पनि गर्न सक्नुपर्छ ।

सेलुलाइडको समयको अनुभवले थ्रिडीको समयलाई काम गर्दैन कि भन्ने कलाकार स्वयंले बुझ्नुपर्छ । समयको धार कतातर्फ छ भने आफू अर्कैतर्फ दौडिएर रेस जितिँदैन । बलिउडका चारवटा सिनेमाबाट २५/२५ वटा सिन कपि गरेर सिनेमा बनाउँदा पनि चोरेको थाहा नहुने समयको सोच र ढर्राले अब काम गर्दैन भन्ने हेक्का हुनुपर्छ ।

कस्तो कथामा काम गर्ने, काम गर्न लागेको टिम कस्तो हो कम्तीमा सोच्नुपर्छ । स्पाइडर म्यान हप्तौँसम्म हाउसफूल हुने हल र तीनै दर्शकलाई लक्षित गरेर बनाइने सिनेमाको प्राविधिक पक्ष कस्तो छ भनेर ख्याल गर्नुपर्छ । होइन भने ट्रिगर आफैँतिर फर्किन्छ ।

प्राविधिक पक्षमा ख्याल नगर्ने, कमजोर टिममा नै भरोसा गर्ने, सिनेमा इन्डस्ट्रीलाई लिड गर्ने कलाकार सामान्य गीतबाट नै कमब्याक हुन्छ भन्ने सोच्ने, दर्शकको चेत र बुझाईलाई नै कमजोर आँकेर कमब्याक गर्न सहज हुँदैन ।

दर्शकले जसरी आफूलाई माया गरेर भरोसा गरेको छ, त्यति नै कलाकारले पनि दर्शकलाई माया गरेर सम्मान गर्नुपर्छ । एउटा पक्षले माया गर्ने तर अर्कोले कमजोर ठानेर उपेक्षा गर्ने हो भने, जुन सुकै पक्ष किन नहोस्, त्यस्तै व्यबहार फर्किन्छ भन्ने सोच्नुपर्छ । आफू फराकिलो बाटोमो हिँड्ने कि साँगुरो बाटोमा, आफ्नो काम पनि त्यही अनुसारकै हुनुपर्छ ।