निर्देशकलाई प्रश्न- ‘गौँथली’ ५१औँ दिनको यात्रातर्फ हो ?


काठमाडौं । विसं. २०५७ सालमा रिलिज भएको चलचित्र ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । तत्कालीन माओवादीले सिनेमा हल बन्द गराइरहेको बेला कठमाडौंमा भने यो सिनेमा लामो समय चल्न सकेको थिएन ।

तर, काठमाडौंबाहिरका दाङलगायत तीनवटा स्टेशनमा भने यसले ५१ औँ दिन मनाउन सफल भएको थियो । ५१ औँ दिनको सफलता मनाएको यो सिनेको पहिलो म्युजिकल सिनेमा थियो ।

त्यसकै अपडेटेड भर्सनमा रुपमा २६ वर्षपछि फेरि ‘गौँथली’ बन्यो । डा. भोला रिजालकै कथामा उनका छोरा डा. कपिल रिजालले निर्देशन गरे । ‘ह्यारी कि प्यारी’ पछि उनको यो दोस्रो निर्देशकीय फिल्म थियो ।

यो फिल्म यसरी चल्यो १९ करोड ग्रसकलेक्सन गरिसकेको छ, यो आकडा अनुसार यो वर्षको हालसम्मको सबैभन्दा धेरै कमाउने चलचित्र हो । प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गर्दा १९ करोडको आकडा पार गरिसकेको छ । आज (आइतबार) पनि अधिकांश शो हाउसफूल प्रायः छ ।

त्यसैले यो चलचित्र अब २५ करोडको आकडातर्फ अगाडि बढ्ने बाटोमा छ । पाएका प्रायः शो हरेक दिन हाउसफूल भइरहनु र समाजमा भित्रभित्रै यसको चर्चा हुनुले यसले व्यापारिक लय तत्काल गुमाउने अवस्था छैन ।

‘स्पाइडर म्यान’को शो कम हुँदै जाँदा ‘गौँथली’को शो थपिँदै जानु र नयाँ रिलिज भएका सिनेमामा भन्दा दर्शकको रोजाइ यसमा देखिनुले यसले ५१औँ दिनको यात्रा तय गर्ने लगबत निश्चित जस्तै देखिएको छ ।

“हलमा आएपछि सिनेमा हाम्रो रहँदैन, दर्शकको हुन्छ । दर्शकले मन पराइदिइरहनु भएको छ । आफूले हेरेपछि आफ्ना आफन्त र छिमेकीलाई हेरिदिनुस् भनेर भनिरहनु भएको छ,” निर्देशक कपिल रिजाल भन्छन्, “अहिलेसम्मको माया र प्रतिक्रिया हेर्दा ५१ औँ दिनको सेलिब्रेसन ‘गौँथली’ले गर्छ भन्ने लागेको छ ।”

वर्ड अफ माउथ राम्रो हुँदा सिनेमाले अफ डेमा समेत हाउसफूल अकुपेन्सीमा व्यापार गरिरहेको छ । महिलाहरू हलमा बढी देखिएका छन् ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।