‘लालीबजार’ले ५१ दिनमा बनाएको रेकर्ड ‘गौँथली’ले दुई सातामै तोड्यो, अब नजर ‘कबड्डी ४’ र ‘१२ गाउँ’को रेकर्डमा
काठमाडौं । नेपाली चलचित्र बजारमा यस वर्षको सुरुआत सुखद नभए पनि साउनदेखि भने ‘गौँथली’ले व्यापारिक फड्को मारेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्ट अनुसार २०८३ वैशाखदेखि रिलिज भएका १७ चलचित्रमध्ये दुईवटाले मात्र लगानी सुरक्षित गर्दै निर्माताको गोजी भर्न सफल भए । बाँकी १३ वटा चलचित्र व्यावसायिक रूपमा असफल भएका छन् । हालै रिलिमा आएका दुई चलचित्र ‘हली’ र ‘कमला मिस’ले भने के गर्छन् हेर्न बाँकी छ ।
यो वर्ष करोडौंमा बनेका केही चलचित्रको ब्यापार हजारमै अड्किएको छ । केहीले भने डिजिटल र इन्टरनेसनल राइट्सबाट लगानी सुरक्षितसम्म गरेका दाबी गरिएको छ ।
वैशाख २५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ यस वर्षकै सर्वाधिक कमाउने सिनेमा बनेको थियो । चलचित्र विकास बोर्डले आफ्नो स्थापनाको २६औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली सिनेमामा सर्वाधिक कमाइ गर्ने ३१ चलचित्रहरूको सूचीमा १९ नंम्बरमा समेत पारेको थियो ।
३ लाख १७ हजार १२ जना दर्शकले हेरेको’लालीबजार’को आधिकारिक लाइफटाइम ग्रस कमाइ ९ करोड ३२ लाख ९ हजार ९२५ रूपैयाँ छ ।
यम थापा निर्देशित ‘लालीबजार’ले आफ्नो ५१ दिने प्रदर्शन यात्रा पार गर्दै बक्स अफिसमा यो सफलता हात पारेको थियो । तर, यसको करिब डेढ महिनापछि प्रर्दशनमा आएको ‘गौँथली’ले त्यो रेकड् दुई सातामै तोड्यो ।
‘गौँथली’ले व्यापारिक सफलताको मात्रै हात पारेन यसले निर्मातालाई नाफासमेत दिलाएको छ ।
साउन १ गतेबाट प्रदर्शनमा आएको ‘गौँथली’ले शनिबारसम्म बक्स अफिसमा यस वर्षकै सर्वाधिक सफल सिनेमा बन्नुका साथै अन्य ब्लकबस्टर सिनेमाको रेकर्ड समेत तोडिसकेको छ ।
‘गौँथली’ले ‘छक्का पञ्जा’का पाँचवटै श्रृंखलादेखि ‘जारी’ र ‘परान’सम्मको रेकर्ड तोडिसकेको छ । अब व्यापारमा ‘गौँथली’को अगाडि जम्मा तीन चलचित्र छन् जसमा ‘पूर्ण बहादुरको सारङ्गी’ (२०८१), ‘कबड्डी ४’ (२०७९) र ‘१२ गाउँ’ (२०८१) । यीमध्ये ‘कबड्डी ४’ र ‘१२ गाउँ’को रेकर्ड भने अब खतरामा परि सकेका छन् ।
‘गौँथली’ले आइतबार दिउँसो साढे १२ बजेसम्म १९ करोड ४५ लाखमाथि कमाइ गरिसकेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । चलचित्रको यो कमाइ ‘१२ गाउँ’को १९ करोड ९२ लाखभन्दा ४७ लाखले मात्र कम हो । चलचित्रले आइतबार साँझसम्म ‘१२ गाउँ’को यो रेकर्डलाई पनि उछिन्ने निश्चित छ । यसपछि ‘गौँथली’ सर्वाधिक कमाउने तेस्रो नेपाली सिनेमा बन्नेछ ।
हालसम्म सर्वाधिक कमाउने नेपाली चलचित्रको सूचीमा दोस्रो स्थानमा ‘कबड्डी ४’ रहेको छ । ‘गौँथली’ को वर्तमान व्यापारिक रफ्तार र दर्शकको चाप हेर्दा यो साताभित्रै ‘कबड्डी ४’ को रेकर्ड पनि तोडिने सम्भावना प्रबल छ ।
‘कबड्डी ४’ले २१ करोड ४० लाख रुपैयाँ कमाइ छ । यदि यसो भएमा ‘गौँथली’ नेपालको इतिहासमै दोस्रो सर्वाधिक कमाउने चलचित्र बन्नेछ ।
‘गौँथली’ले कीर्तिमानी चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को रेकर्ड तोड्न अझै २७ करोडभन्दा बढी कमाउनुपर्ने हुन्छ ।
‘गौँथली’ ले व्यापारिक सफलताको नयाँ मानक मात्र स्थापना गरेको छैन, यसले नेपाली दर्शकलाई फेरि हलसम्म ठुलो संख्यामा तान्न सफल भएको छ । अबको दुई हप्ता यस चलचित्रका लागि निर्णायक हुने देखिन्छ ।




