बक्स अफिसमा ‘गौँथली’को फड्को, २४ दिनमा १९ करोडको क्लबमा प्रवेश
काठमाडौं । २४ दिनमा चलचित्र ‘गौँथली’ले १९ करोड ७१ लाख माथि कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्यांक अनुसार ‘गौँथली’ले आइतबार रातिसम्म १९ करोड ७१ लाख ६ हजार ०५ रुपैयाँ कलेक्सन गरेको हो ।
प्रर्दशन भएको २४ दिनमा यो चलचित्रलाई ७ लाख १५ हजार १ सय ९८ दर्शकले हेरेका छन् ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ छोटो समयमा धेरै ग्रसकलेक्सन गर्ने चलचित्रमध्ये परेको छ । यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ सबैभन्दा छोटो समयमा धेरै कलेक्सन गर्ने चलचित्र बनेको थियो । त्यसपछि दोस्रो स्थानमा ‘गौँथली’ छोटो समयमा धेरै कलेक्सन गर्ने चलचित्र बनेको छ ।
पछिल्लो समय हरेक दिन १ करोडमाथि यो सिनेमाले कलेक्सन गर्दै आएको छ । सकारात्मक वर्ड अफ माउथ पाउँदा सिनमा हेर्ने दर्शकको चाप हलमा अझै पनि उस्तै छ ।
‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।




