‘गौँथली’को कमाइ २१ करोड ४० माथि, तोडिने भयो ‘कबड्डी ४’को रेकर्ड
काठमाडौं । चलचित्र ‘गौँथली’ले देशभरबाट २१ करोड ४० को हाराहारीमा ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार यो सिनेमाले २१ करोड ४० लाख ६ हजार ९ सय ०६ रुपैयाँ कमाइ गरेको छ ।
साउन १ गतेदेखि प्रदर्शनमा यो चलचित्रले आज विहीबार पौने १२ बजेसम्म उक्त कलेक्सन गरेको हो । प्रर्दशन भएको २८ दिनमा यो चलचित्रलाई ७ लाख ८७ हजार ८ सय २६ दर्शकले हेरेका छन् ।
चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा चमत्कारिक व्यापार गर्दै नयाँ इतिहास रच्ने तयारी गरेको छ । २१ करोड ४० लाख माथि ग्रस कमाउँदै यो सिनेमाले सर्वकालिन धेरै कमाउने तेस्रो चलचित्र बनेको छ । तर, यो स्थान धेरै समय रहने देखिँदैन ।
आज साँझसम्ममा यसले नेपाली चलचित्र क्षेत्रको बहुचर्चित फिल्म ‘कबड्डी ४’ को २१ करोड ४० लाख ७५ हजार ४ सय ९७ रुपैयाँको रेकर्डलाई उछिनेर दोस्रो स्थान सुरक्षित गर्ने निश्चित देखिएको छ ।
सबैभन्दा बढी कमाइने गर्ने पहिलो स्थानमा ‘पूर्णबहादुरको सारंगी’ रहेको छ । ‘गौँथली’ले सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा दोस्रो स्थान प्राप्त गर्ने तय भईसकेको छ ।
सकारात्मक ‘वर्ड अफ माउथ’ र दर्शकको निरन्तर साथ रहेमा चलचित्रले छिट्टै २५ करोड रुपैयाँ ग्रस कमाइको आँकडा पार गर्ने अपेक्षा गरिएको छ ।
डा. कपिल रिजाल निर्देशित ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।




