‘गौँथली’ले ‘स्पाइडर म्यान’लाई उछिन्यो, दोब्बर बढी शो

काठमाडौं । ‘स्पाइडर म्यान’को शोलाई ‘गौँथली’ले उछिनेको छ । सुरुका दिनमा ‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे’ आउँदा ‘गौँथली’को शो खोसेका सिनेमा हलहरूले पुनः शो ‘गौँथली’लाई फिर्ता गरेका हुन् ।

स्पाइडर म्यान’मा दर्शक कम हुँदै जाँदा ‘गौँथली’को शो थपिँदै गएको छ । अहिले ‘गौँथली’को शो स्पाइडर म्यानको भन्दा दोब्बरले धेरै छ ।

आज (बिहीबार) देशभर ‘स्पाइडर म्यान’को शो ९५ को आसपासमा छ । तर, ‘गौँथली’को शो १९१ भन्दा धेरै छ । अहिले दर्शक ‘स्पाइडर म्यान’मा भन्दा ‘गौँथली’मा धेरै छन् । त्यसैले शो पनि ‘गौँथली’लाई नै धेरै छ ।

वर्ड अफ माउथ राम्रो हुँदा ‘गौँथली’ले २८ औँ दिनमा पनि उच्च अकुपेन्सीमा व्यापार गरिरहेको छ । महिलाहरू हलमा बढी देखिएका छन् ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।