अनमोल र सुहानाको ‘ए मेरो हजुर ५’को छायांकन सुरु

काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने सिनेमा ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ ।

निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरेको हो । बंगलामुखीमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको निर्देशक थापाले बताइन् ।

निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरमा सिनेमाको छायांकन गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरेकी छन् । उनले बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि भएको बताएकी छन् ।

सिनेमामा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिनेछन् । यो उनीहरूको तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता सुनिलकुमार थापा हुन् । सिनेमाको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन् ।

अनमोल र सुहानासहित सिनेमामा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ।

रामजी लामिछानेको कोरियोग्राफी रहने सिनेमाको गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ । संगीत संयोजन उदय राज पौडेलले गर्नेछन् ।

सिनेमाको प्रमुख सहायक निर्देशकमा नवराज शर्मा रहेका छन् भने सहायक निर्देशकको जिम्मेवारी अनिल दाहाल र प्रकाश थापाले सम्हाल्नेछन् ।

निर्माण सहायकमा रञ्जित कोइराला रहनेछन् । कास्टिङ डिरेक्टरको जिम्मेवारी पटकथा लेखक सरिन पोखरेलले सम्हालेका छन् भने प्रोडक्सन डिजाइनर कुमार सिलवाल हुन् ।

यो सिनेमा नेपाली नयाँ वर्ष २०८४ को अवसरमा प्रदर्शनमा आउनेछ ।