२४ वर्षपछि आफ्नै सिनेमाको सिक्वेलमा फर्किंदै झरना

काठमाडौं । अभिनेत्री झरना थापा आफ्नै लोकप्रिय सिक्वेलमा २४ वर्षपछि देखिने भएकी छन् । सन् २००२ मा ‘ए मेरो हजुर’ रिलिज हुँदा यसको मुख्य भूमिकामा झरना थिइन् । यो सिनेमा लोकप्रिय भएको थियो ।

कालन्तरमा यही सिनेमामार्फत झरनाले सिनेमा निर्देशनमा डेब्यू गरिन् । यो निर्देशनमा बनेका ‘ए मेरो हजुर’ पनि हिट भए । ‘ए मेरो हजुर २’ देखि ‘ए मेरो हजुर ४’ सम्म आफैँले निर्देशन गर्दा झरनाले आफू पनि पर्दामा देखिने रहर गरिनन् । उनले निर्देशनको बागडोर मात्रै सम्हालिन ।

तर, ‘ए मेरो हजुर ५’मा भने दर्शकले झरनालाई कलाकारका रूपमा पनि देख्ने भएका छन् । “यसअघि २ देखि ४ सम्म झरनालाई कतै एक सिनमा पनि झुल्क्क देख्न पाइँदैन,” ए मेरो हजुर ५ का निर्माता सुनील कुमार थापा भन्छन्, “तर, यसपटक भने झरनालाई दर्शकले पर्दा पछाडि मात्रै होइन, पर्दामा अभिनेत्रीका रुपमा पनि देख्न पाउनु हुनेछ ।”

‘ए मेरो हजुर’मा श्रीकृष्ण श्रेष्ठ थिए । ‘ए मेरो हजुर ५’मा भने श्रीकृष्णको ठाउँमा दिलीप रायमाझी हुनेछन् ।

झरना थापाको निर्देशनमा बन्ने ‘ए मेरो हजुर ५’मा मुख्य भूमिकामा भने अनमोल केसी र सुहाना थापा छन् ।

निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरेको छ । बंगलामुखीमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरिसकेको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता सुनीलकुमार थापा हुन् । सिनेमाको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन् । अनमोल र सुहानासहित सिनेमामा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ ।