एक महिनामा ‘गौंथली’को कमाइ २३ करोड माथि
काठमाडौं । कपिल रिजाल निर्देशित चलचित्र ‘गौंथली’ले बक्स अफिसमा उत्साहजनक प्रदर्शनलाई निरन्तरता दिएको छ । प्रदर्शनको १ महिनामा चलचित्र दर्शक अकुपेन्सी उत्साहजनक छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कुल कमाइ २३ करोड रूपैयाँभन्दा माथि पुगेको छ । व्यापारिक गति कायम रहेकाले यो सिनेमाले २५ करोड रूपैयाँभन्दा माथिको व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ ।
बोर्डको सिनेमा बक्स अफिस रिपोर्टअनुसार चलचित्रले साउन ३१ गते आइतबारसम्म २३ करोड ७ लाख ८८ हजार ७ सय उक्त कमाइ गरेको छ ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौंथली’को एक महिना पूरा गरिसक्दा चलचित्रका ७ लाख ८८ हजार ७ सयभन्दा बढी टिकट बिक्री भएका छन् ।
अरूण क्षेत्री र सिम्रन खड्का अभिनीत यो सिनेमा यहाँसम्म आउँदा यसले थुप्रै चलचित्रको लाइफटाइम कमाइलाई समेत पछि पारेको छ ।
‘गौंथली’ इतिहासकै दोस्रो सर्वाधिक कमाउने नेपाली चलचित्र बनेको छ । यसले ‘कबड्डी ४’को २१ करोड ४० लाख रूपैयाँको कमाइलाई पछि पार्दै यो रेकर्ड बनाएको हो । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २६ वर्षका ३१ ब्लबकस्टर फिल्मको सूचीमा ‘कबड्डी ४’को कमाइ २१ करोड ४० लाख उल्लेख थियो ।
हालसम्म सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको कीर्तिमान ‘पूर्णबहादुरको सारंगी’को नाममा छ । यसले ४६ करोड ८७ लाख ४१ हजार रूपैयाँ कमाएको थियो ।
यसअघि ‘गौंथली’ले ‘छक्का पञ्जा’का विभिन्न श्रृंखला, ‘जेरी अन टप’, ‘जारी’, ‘परान’ र ‘१२ गाउँ’जस्ता चलचित्रको कमाइलाई पनि उछिनेको थियो ।
डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’मा अरूण र सिम्रन मुख्य भूमिकामा छन् । साथमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ ।
शिक्षाको महत्व र श्रीमान्-श्रीमतीबीचको सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रका निर्माता कपिल रिजाल र सुमन गिरी हुन् ।




