‘सारथी’को प्रदर्शन मिति घोषणा, निरुताको फरक रूप

काठमाडौं । चलचित्र ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

कुमार गजुरेल निर्देशित सिनेमाको निर्मााण पक्षले शुक्रबार अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर ११ गतेलाई प्रदर्शन मिति घोषणागरेको हो ।

सार्वजनिक पोस्टरमा अभिनेत्री निरुतालाई यसअघिका भूमिकाभन्दा फरक रूपमा प्रस्तुत गरिएको छ । जहाँ निरुताले काखमा दुधे बालक बोकेकी छन् । उनको अनुहारमा चिन्ता, पीडा र दृढताको मिश्रित भाव देखिन्छ । अझ ध्यान खिच्ने पक्ष उनको खुट्टाको पैतालाबाट रगत चुहिरहेको दृश्य हो । सामान्यतः पारिवारिक तथा भावनात्मक भूमिकामा देखिँदै आएकी निरुतालाई यसपटक यति गम्भीर र पीडादायी अवस्थामा प्रस्तुत गरिनुले ‘सारथी’को कथामा संघर्ष, पीडा र भावनात्मक उतारचढावको पाटो रहेको संकेत गर्छ ।

किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको ‘सारथी’को सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । हिमाली भूगोल र प्राकृतिक परिवेशलाई कथाको महत्वपूर्ण पृष्ठभूमिका रूपमा प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ ।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्रमा निरुता सिंहसँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय छ ।

‘सारथी’ मार्फत करिब दुई दशकपछि उत्तम प्रधान र निरुता सिंहको पर्दामा पुनर्मिलन भएको हो । एक समयको यो निकै चर्चित र सफल जोडीलाई पुनः एकसाथ देख्न पाउनु दर्शकका लागि ठूलो कौतूहलको विषय बनेको दाबी निर्माण टिमको छ ।

चलचित्रमा रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता तथा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता छन् । अमीर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन् ।

संकल्प भुजेलको छायांकन रहेको चलचित्रमा राजु खतिवडा मुख्य सहायक निर्देशक छन् । बाबुबल गिरी र प्रशान्त शिवाकोटीले संगीत दिएका छन् भने बाबुल, प्रशान्त र रचना रिमालको स्वर रहेको छ । श्याम कार्की आर्ट डिरेक्टर तथा गोविन्द खड्का ड्रेस कोर्डिनेटरका रूपमा आबद्ध छन् ।

निर्माण टिमले प्रदर्शन मिति घोषणा भएसँगै सिनेमाको प्रचारप्रसारलाई तीव्रता दिने बताएको छ । चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ ।