आमाको माया र संघर्षको कथा बोकेको ‘सारथी’को ट्रेलर सार्वजनिक
काठमाडौं । अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको अभिनय रहेको चलचित्र ‘सारथी’को ट्रेलर सार्वजनिक गरिएको छ । कुमार गजुरेलको निर्देशनमा बनेको सिनेमाको निर्माण टिमले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरले आमाको माया, त्याग र छोराप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेको छ । म्याग्दीको दुर्गम गाउँ गुर्जाको प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैलीलाई पृष्ठभूमि बनाइएको सिनेमामा आमाछोराबीचको भावनात्मक सम्बन्ध र जीवनसंघर्षलाई प्रस्तुत गरिएको छ ।
ट्रेलरमा निरुता सिंह आमाको भूमिकामा देखिएकी छन् भने गिरि विश्वकर्माले छोराको चरित्र निर्वाह गरेका छन् । छोराको जीवनमा आउने कठिन परिस्थितिमा निरन्तर साथ दिने आमाको भूमिकामा निरुताको अभिनय प्रभावशाली देखिन्छ । विशेषगरी, ‘एउटा हात तिम्रो अघि सारथी बनेर रहिरहनेछ’ भन्ने उनको संवादले ट्रेलरको भावनात्मक पक्षलाई थप बलियो बनाएको छ । उनको कवितावाचनले पनि दर्शकको ध्यान खिच्न सक्छ ।
लामो समयपछि अभिनयमा फर्किएका उत्तम प्रधान र नवअभिनेत्री गायत्री जोशीलाई भने ट्रेलरमा केही रहस्यमय रूपमा प्रस्तुत गरिएको छ । उनीहरूको चरित्र र कथामा रहने भूमिका खुलाइएको छैन । ग्रामीण परिवेशमा देखिएका अन्य कलाकारहरूको प्रस्तुति पनि स्वाभाविक देखिन्छ ।
निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद रहेको सिनेमा आगामी मंसिर ११ गतेदेखि देशभरका हलमा प्रदर्शन हुँदैछ । सिनेमामा निरुता र गिरिसँगै उत्तम प्रधान, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायत कलाकारको अभिनय छ ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । संकल्प भुजेलले छायांकन गरेको सिनेमामा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ ।
तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सहनिर्माताका रूपमा छन् । अमिर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन् ।
राजु खतिवडा मुख्य सहायक निर्देशक रहेको सिनेमामा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक छन् । सिनेमाको वितरण आरआर फिल्म्सले गर्नेछ ।



