समाजको कठोर यथार्थ भन्दै ‘बा :एक योद्धा’को ट्रेलर सार्वजनिक
काठमाडौं । हरि लम्साल निर्देशित चलचित्र ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरको केन्द्रमा बुवाको संघर्ष छ । बुवाले सन्तानका लागि गरेको संघर्ष र त्यागको सेरोफेरोमा ट्रेलर घुमेको छ । आफ्नो सन्तानको सुख र खुसीका लागि बुवा जस्तो सुकै त्याग, संघर्ष र बलिदानी दिन तयार हुन्छ भन्ने ट्रेलरले सन्देश दिएको छ ।
आफ्ना सन्तानका लागि बलिदान दिन तयार हुने बाबुआमा तर त्यसको गुन भुल्ने समाज निर्माण हुँदै गएको पछिल्लो कालखण्डको यथार्थ हो । यही नै ट्रेलरमा छ ।
आफू जन्मिएको र हुर्किएको भूमि र आफूलाई योग्य बनाउने बाबाआमालाई भुल्ने र केही नगन्ने प्रवृत्ति हाबी भइरहेको बेला त्यो यथार्थ कथा ट्रेलरमा देखिन्छ ।
आफ्नो सन्तानको खुसीका लागि आफू बसेको घर पनि बेच्न तयार बाबुलाई सन्तानले दिएको दुःख र त्यसको परिणाम ट्रेलरमा देखिन्छ । आफ्नै सन्तानले दिएको चोट सहन नसकेपछिको पीडा र कठोर निर्णय भन्ने ट्रेलरले क्लाइमेक्सलाई भने सस्पेन्समा राखेको छ ।
जब खुसी हराउँछ र परिवार टुक्रिन्छ अनि केही रहँदैन । केही नरहेपछि के हुन्छ अथवा परिवारको मुख्य मुली र सिनेमाको मुख्य चरित्रले के गर्छ ? यो सस्पेन्सले दर्शकमा कौतुहलता जगाएको छ । र, सिनेमाको क्लाइमेक्समा के हुन्छ भन्ने प्रश्न दिमागमा जन्माएर ट्रेलर सकिएको छ ।
चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा रहेको निर्माण पक्षले बताएको छ ।
यो चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।
चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।
शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।




