प्रदीप र सनिशाको सिनेमा ‘शुभ विवाह’को पोखराबाट छायांकन सुरु

काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘शुभ विवाह’को छायांकन सुरु गरिएको छ। निर्माण टोलीले पर्यटकीय नगरी पोखराबाट फिल्मको सुटिङ थालेको हो ।

४५ दिनको छायांकन तालिका निर्धारण गरिएको यस फिल्मका लागि कलाकार तथा प्राविधिक टोली पोखरा पुगिसकेका छन् । सोही सेड्युल अनुसार आइतबारबाट सुटिङ सुरु गरिएको निर्देशक थापाले जानकारी दिए ।

प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको यस फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई रहनेछन्। निर्देशक थापा र अभिनेता खड्काले यसअघि सुपरहिट फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए । लामो समयपछिको यो पुनर्मिलनलाई लिएर सिने वृत्तमा विशेष चासो देखिएको छ ।

फिल्ममा प्रदीप र सनिशाका साथै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायतको अभिनय रहनेछ।

सुप्रिया कटुवाल निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन् । रोमान्टिक कथावस्तुमा आधारित यस फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् । पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ ।

फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन, र मिलन श्रेष्ठको सम्पादन रहनेछ ।