कुल ब्वाइ र दिव्याको ‘बेहुली’ले १० दिनमा कति कमायो ?

काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बेहुली’ले प्रदर्शनको १० दिन पूरा गर्दा घरेलु बक्सअफिसमा साढे दुई करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ ।

बक्सअफिसको सार्वजनिक तथ्यांकअनुसार ‘बेहुली’ले १० दिनमा २ करोड ६८ लाख २८ हजार ५२९ रुपैयाँ ग्रस कमाएको छ । यस अवधिमा चलचित्रले १४ हजार ८८५ टिकट बिक्री गरेको तथ्यांकमा उल्लेख छ ।

प्रदर्शनको दोस्रो सातामा समेत चलचित्रले दर्शकको साथ पाइरहेको निर्माण पक्षले जनाएको छ । प्रेम, पारिवारिक सम्बन्ध र मित्रताका विभिन्न आयामलाई कथाको केन्द्रमा राखिएको ‘बेहुली’लाई प्रेम तथा पारिवारिक ड्रामा विधामा निर्माण गरिएको हो ।

सशान कँडेलको निर्देशन रहेको चलचित्रमा पारस बम ठकुरी ‘कुल ब्वाइ’ र दिव्या रायमाझी मुख्य भूमिकामा छन् । उनीहरूसँगै पदम तामाङ, सुशान्त कार्की लगायतका कलाकारहरूको अभिनय छ ।

चलचित्रमा प्रेम सम्बन्धसँगै परिवारभित्रका सम्बन्ध, आपसी भावनात्मक उतारचढाव र मित्रताको पक्षलाई प्रस्तुत गरिएको छ । यही कथावस्तुलाई पारिवारिक परिवेशमा जोडेर चलचित्र अगाडि बढाइएको छ ।

माधव शर्माको लेखन रहेको ‘बेहुली’ द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति हो । अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन् ।

चलचित्रको डिओपी नरेन्द्र मैनाली, सिनेम्याटोग्राफी रवी रोक्का, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ तथा सम्पादन बनिश शाह र विकास दाहालले गरेका छन् ।

‘बेहुली’ पारस बम ठकुरी ‘कुल ब्वाइ’को दोस्रो चलचित्र हो । उनले यसअघि ‘होस्टेल ३’बाट अभिनयमा डेब्यु गरेका थिए । यस्तै, दिव्या रायमाझीका लागि ‘बेहुली’ चौथो चलचित्र हो ।