२५ करोड नाघ्यो ‘गौंथली’ को कमाई

काठमाडौं । कपिल रिजाल निर्देशित चलचित्र ‘गौंथली’ले बक्स अफिसमा आफ्नो उत्साहजनक प्रदर्शनलाई कायम राखेको छ । यो चलचित्रले घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ ।

चलचित्र विकास बोर्डको बक्सअफिस विवरणअनुसार हालसम्म ‘गौंथली’ले २५ करोड ५ लाख ६५ हजार ७ सय ७२ रूपैयाँ ग्रसकलेक्सन गरेको छ ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौंथली’का ९ लाख ९ हजार ४ सय २६ टिकट बिक्री भएका छन् ।

अहिले यो सिनेमाले डायसस्पोरामा पनि राम्रो कमाय गरिरहेको छ । अहिले यो सिनेमाका नायक अरुण क्षेत्री दर्शकको प्रतिक्रिया बुझ्न जापान पुगेका छन् ।

अरूण क्षेत्री र सिम्रन खड्का अभिनीत ‘गौंथली’ इतिहासकै दोस्रो सर्वाधिक कमाउने नेपाली चलचित्र बनेको छ ।

हालसम्म सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको कीर्तिमान ‘पूर्णबहादुरको सारंगी’को नाममा छ । यसले ४६ करोड ८७ लाख ४१ हजार रूपैयाँ कमाएको थियो ।

डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’मा अरूण र सिम्रन मुख्य भूमिकामा छन् । साथमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ ।

शिक्षाको महत्व र श्रीमान–श्रीमतीबीचको सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रका निर्माता कपिल रिजाल र सुमन गिरी हुन् ।