‘आचार्य’को टिजरमा निखिलको एक्सन नै एक्सन

काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको चलचित्र ‘आचार्य’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा निखिलको एक्सन दृश्य छ ।

गाडी, बाइक, हेलिकप्टर, आगो र हतियारसँग खेलेका निखिलको एक्सन टिजरको मूल भागमा छ । अन्यायका विरुद्धमा लड्ने मानवका रुपमा निखिललाई चित्रण गर्दै टिजरले निखिललाई शक्तिको नयाँ रुपमा चित्रण गर्ने प्रयास गरेको छ ।

एक्सनका लागि उनले गरेका प्रयास टिजरमा देखिन्छ । एक दशकपछि पुनः निर्देशनको बागडोर सम्हाल्दै पर्दामा फर्किएका निखिलको यो कमब्याक सिनेमा हो ।

सन् २०१५ मा प्रदर्शनमा आएको ‘भैरव’ पछि निखिलले कुनै पनि सिनेमा निर्देशन गरेका छैनन् । करिब १० वर्षको लामो अन्तरालपछि ‘आचार्य’ मार्फत उनी निर्देशकको रूपमा पुनः उत्रिएका हुन् । यस चलचित्रमा उनी मुख्य भूमिकामा मात्र छैनन्, सिनेमाको लेखन पनि उनले स्वयंले गरेका हुन् ।

निर्माण पक्षका अनुसार यो सिनेमा आगामी असोज ९ गते (सेप्टेम्बर २५) देखि प्रदर्शनमा आउनेछ ।

निखिल उप्रेती प्रोडक्सन प्रालिको प्रस्तुति रहेको यस चलचित्रमा निखिलका साथै पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया निर्मल शर्मा, रक्षा गौतम लगायत कलाकारहरूको अभिनय छ । विशेष आकर्षणको रूपमा भारतीय कलाकार दीपराज राणा पनि देखिनेछन् ।

३ करोडमाथिको लगानीमा निर्माण भएको चलचित्रमा कृष्ण भट्टराईको लगानी रहेको छ ।

मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको छायांकन रहेको चलचित्रमा बन्दे प्रसादले सम्पादन, शुक्रराज शाहको द्वन्द्व निर्देशन, युग भुसालको संगीत निर्देशन, राजेन्द्र मोक्तानको रंग संयोजन, कालाचरणको पाश्र्व ध्वनी (ब्याकग्राउन्ड स्कोर) तथा किरण थापाको कोरियोग्राफी छ ।

दशैंको पूर्वसन्ध्यामा प्रदर्शन हुन लागेको ‘आचार्य’ ले नेपाली बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।