दुई महिनापछि छायांकनमा फर्किए निखिल उप्रेती
काठमाडौं । बक्स अफिसमा अपेक्षाअनुसारको नतिजा दिन नसकेको चलचित्र ‘आचार्य’पछि अभिनेता निखिल उप्रेती नयाँ सिनेमा ‘कस्तुरी’मार्फत दर्शकमाझ आउने तयारीमा जुटेका छन् । नौ वर्षपछि निर्देशनमा फर्किएर बनाएको ‘आचार्य’ व्यावसायिक रूपमा असफल भएपछि केही समय सुस्ताएका निखिल अहिले नयाँ सिनेमाको काममा व्यस्त भएका हुन् ।
करिब दुई महिनापछि निखिल शुक्रबारदेखि ‘कस्तुरी’को छायांकनमा पुनः जोडिएका छन् । चलचित्रको दोस्रो चरणअन्तर्गत बाँकी दृश्य खिच्न निर्माण टोलीले काठमाडौंमा काम सुरु गरेको हो । निर्माण पक्षका अनुसार चलचित्रको करिब ९० प्रतिशत छायांकन पूरा भइसकेको छ । अब बाँकी १० प्रतिशत काम सकेर छायांकन टुंग्याउने तयारी छ ।
केही प्रतिकूल परिस्थितिका कारण छायांकन निर्धारित समयभन्दा लम्बिएको भए पनि अब कामलाई तीव्रता दिइने निर्माण पक्षले जनाएको छ । निखिल र वर्षा सिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्रको छायांकन अन्तिम चरणमा पुगेसँगै निर्माण टोली पोस्ट प्रोडक्सनको तयारीतर्फ अघि बढ्ने छ ।
ऋत बोहोराको निर्देशनमा बनिरहेको ‘कस्तुरी’मा निखिल र वर्षासँगै शेखर चापागाईं, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमको अभिनय छ । अभिनेता गौरव पहारी र हेना नगरकोटी भने विशेष झलक अर्थात् क्यामियो भूमिकामा प्रस्तुत हुनेछन् ।
टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रको कथा तथा पटकथा निर्देशक बोहोराकै हो । धिरजकुमार अग्रवाल निर्माता रहेको चलचित्रमा अञ्जली चौधरी सह-निर्माताका रूपमा छिन् ।
चलचित्रको छायांकन आलोक शुक्लाले गरिरहेका छन् । ललित विष्ट सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ भने निर्माण व्यवस्थापनको जिम्मेवारी दिलीप पन्तले सम्हालेका छन् ।
यसअघि करिब पाँच करोड रुपैयाँ लगानीमा बनेको निखिल निर्देशित ‘आचार्य’ले दुई करोड रुपैयाँको व्यापारसमेत गर्न सकेको थिएन । उक्त असफलताले उनको व्यावसायिक प्रभावबारे बहस सिर्जना गरेको थियो । अब ‘कस्तुरी’मार्फत निखिलले दर्शकमाझ कस्तो प्रभाव छाड्छन् भन्ने चासो रहनेछ ।





