‘ककाकिकी’ को प्रदर्शन स्थगित

काठमाडौं । चलचित्र ‘ककाकिकी’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । भदौ १९ गतेबाट प्रदर्शन हुने भनिएको यो चलचित्र अब तीन महिनापछि मात्र दर्शकमाझ आउने भएको छ ।

बुधबार बिहान चीनको तिब्बततर्फबाट हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधन र भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । देश शोकमा डुबेको यस्तो संवेदनशील घडीमा हाँस्य विधाको चलचित्र प्रदर्शन गर्नु उचित नहुने भन्दै निर्माण पक्षले प्रदर्शन मिति परिवर्तन गरी मंसिर ११ गते पुर्‍याएको हो ।

शनिबार माया इन्टरटेनमेन्ट स्टुडियोले एक आधिकारिक विज्ञप्ति जारी गर्दै प्रदर्शन मिति सार्नु परेको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “देशमा अचानक आएको बाढीरुपी प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भएको छ । यस्तो अवस्थामा हाँस्ने-हँसाउने लगायतका मनोरञ्जनका कुनै पनि कार्यक्रम गर्ने कल्पना समेत गर्न सकिँदैन, त्यसैले हामीले चलचित्रको रिलिज स्थगित गर्ने निर्णय गरेका हौँ ।”

निर्माण टिमका अनुसार पीडामा रहेका दर्शकलाई यो समयमा हँसाउन खोज्नु मानवीय संवेदनाको विरुद्ध हुने भएकाले व्यवसायिक लाभभन्दा सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखी यो निर्णय लिइएको हो । निर्माण पक्षले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितहरूको छिटो उद्धार र पुनस्र्थापनाको कामना समेत गरेको छ ।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा निर्देशन गरेको चलचित्रमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, अभिनेता महेश त्रिपाठी, दीया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर, सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोग लगायतको पनि अभिनय छ ।

सुदिप बरालको डिओपी रहेको चलचित्रको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र बिकाश अर्यालले गरेका हुन् ।

चलचित्रको निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् । यस्तै कन्सेप्ट सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरकोकाम विश्वास तिमल्सिना (बिटी कान्छा)ले गरेका छन् ।