‘ककाकिकी’को ट्रेलरमा के छ ?
काठमाडौं । गाउँमा अस्पताल निर्माण गर्ने उद्देश्यले स्थानीयवासीले बैंक लुट्नेसम्मको योजना बनाएको कथावस्तु समेटिएको चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक भएको छ । आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको निर्माण टिमले शनिबार एक कार्यक्रम आयोजना गर्दै ३ मिनेट २० सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरले चलचित्रको मुख्य कथावस्तु र पात्रहरूको चरित्रलाई परिचित गराएको छ । जसमा कुलेबारी गाउँमा अस्पताल निर्माण गर्ने स्थानीयवासीको सपना र त्यसका लागि उनीहरूले गर्ने विभिन्न प्रयासलाई चलचित्रको मुख्य विषय बनाइएको देखिन्छ । अस्पताल बनाउन आर्थिक स्रोत जुटाउने क्रममा गाउँलेहरू विभिन्न उपाय खोजिरहेका छन् । कतिपयले त बैंक लुटेरै भए पनि गाउँमा अस्पताल बनाउनुपर्ने निष्कर्ष निकाल्छन् । यही विषयले चलचित्रको कथालाई हास्यरसरुपमा बनाइएको संकेत ट्रेलरले गरेको छ ।
गाउँको सामूहिक सपना, त्यसलाई पूरा गर्न स्थानीयवासीले गर्ने संघर्ष, उनीहरूको सोच र परिस्थितिले सिर्जना गर्ने हास्यपूर्ण घटनाक्रम ट्रेलरमा समेटिएका छन् ।
ट्रेलरमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के र मनोज गजुरेललगायतका कलाकारलाई देख्न सकिन्छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री गौरी मल्लले पछिल्लो समय निर्माण भइरहेका चलचित्रभन्दा केही फरक विषयवस्तु र प्रस्तुति दिने प्रयास ‘ककाकिकी’को टिमले गरेको बताइन् । कलाकार शिशिर वाङ्देलले निर्माण टिममा युवाजोश भएका साथीहरूको सहभागिता रहेकाले काम गर्दाको अनुभव राम्रो रहेको सुनाए । त्यस्तै, हास्यकलाकार मनोज गजुरेलले लामो समयपछि पुनः चलचित्रमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै ‘ककाकिकी’ आफ्नो दोस्रो चलचित्र भएको जानकारी दिए ।
कार्यक्रममा निर्देशक बिक्की अग्रवालले नेपाली दर्शकलाई मन पर्ने गरी चलचित्र निर्माण गरिएको दाबी गरे । चलचित्रको टिजर र ट्रेलर सम्पादनको कामसमेत आफूले नै गरेको बताउँदै उनले फिल्मको परिणाम जस्तोसुकै आए पनि त्यसको जिम्मेवारी आफूले लिने स्पष्ट पारे । दर्शकको रुचि र अपेक्षालाई ध्यानमा राखेर चलचित्र तयार गरिएको उनको भनाइ थियो ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रको लेखन बिक्की अग्रवाल, सरोज भण्डारी र विकास अर्यालले गरेका हुन् । श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्रको कन्सेप्ट सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरको जिम्मेवारी विश्वास तिमल्सिना (बिटी कान्छा)ले सम्हालेका छन् ।
सुदीप बरालको छायांकन (डीओपी) रहेको चलचित्रमा अनिश बुढाथोकी मुख्य सहायक निर्देशक र विशाल राई सहायक निर्देशकका रूपमा रहेका छन् ।



