‘बा: एक योद्धा’को प्रदर्शन स्थगन, बाढी पीडितलाई दुई लाख सहयोग
काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’ को प्रदर्शन स्थगन भएको छ । भोटेकोशी बाढीका कारण यो चलचित्रको प्रदर्शन स्थगन गरिएको हो ।
निर्माण टिमले बाढी पीडितलाई दुई लाख रुपैयाँ सहयोग गर्दै नयाँ प्रदर्शन मिति पनि तय गरेको छ । अब यो चलचित्र मंसीर २४ गतेबाट प्रदर्शनमा आउनेछ ।
‘बा : एक योद्धा’ यही शुक्रबारबाट प्रदशर्नमा आउने तयारीमा थियो । “भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको जनधनको अकल्पनीय क्षतिप्रति आर्टिस्टिक इन्टरटेन्मेन्ट परिवार स्तब्ध र मर्माहत भएको छ । यो महाविपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धासुमन, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र सम्पूर्ण घाइतेजनहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ,” निर्माणख कम्पनी आर्टिस्टिक इन्टरटेन्मेन्टले विज्ञप्ति जारी गर्दै भनेको छ, “प्रभावित क्षेत्रमा राहत र उद्धारको पर्खाइमा रहनुभएका सम्पूर्ण नागरिकहरूको यथाशीघ्र राहत तथा उद्धारका लागि कामना पनि गर्दछौँ ।”
सिनेमा मानवीय संवेदनाको संवाहक पनि भएकाले देशको एउटा भूगोल अकल्पनीय प्रलयमा परिरहेका बेला सामाजिक र पारिवारिक कथावस्तु बोकेको चलचित्र प्रदर्शन गर्न उपयुक्त नभएको निष्कर्ष निकाल्दै आर्टिस्टिक इन्टरटेन्मेन्टले प्रदर्शन स्थगन गरेको प्रस्ट पारेको छ ।
“देशको यो विषम परिस्थिति, जनमानसको विक्षिप्त मानसिकता र पीडितहरूप्रतिको साझा ऐक्यबद्धतालाई सम्मान गर्दै आगामी भदौ १९ गतेबाट देशभर प्रदर्शनका लागि तय गरिएको हाम्रो चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ, “यो चलचित्र आगामी २०८३ साल मंसीर २४ गते बिहिबार देशभरका सिनेमा हलहरूमा प्रदर्शन गर्ने निर्णय गरेका छौँ । विपद्को यस घडीमा हाम्रो चलचित्र ‘बा : एक योद्धा’ परिवारको तर्फबाट रु. २ लाख १ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छौँ ।”
आर्टिस्टिक इन्टरटेन्मेन्टले राष्ट्र नै शोकमा डुबेको यस विषम परिस्थितिमा एकजुट भई राहत र उद्धार कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्न समेत निर्माता वसन्त लम्सालले सबैसामु आग्रह गरेका छन् ।





