‘पार्वती’मा दर्शक बढ्दै गएको दाबी

काठमाडौं । नीता ढुङ्गानाद्वारा निर्देशित चलचित्र ‘पार्वती’ले घरेलु बक्सअफिसमा राम्रो व्यापार सुरु गरेको छ । प्रदर्शनको पहिलो र दोस्रो दिन न्यून दर्शक उपस्थिति तथा रसुवामा गएको भीषण बाढीपहिरोका कारण सुरुवाती धक्का व्यहोरेको यस फिल्मले तेस्रो दिनदेखि बलियो ‘माउथ पब्लिसिटी’का कारण व्यापारमा फड्को मार्न थालेको निर्माण टिमको दाबी छ ।

सुरुवातमा नगन्य शो पाएको यस फिल्मले दर्शकको बढ्दो चापसँगै हाल देशभरका हलहरूमा ११० भन्दा बढी सो प्राप्त गरेको छ ।

विशेष गरी भारतीय बहुप्रतीक्षित फिल्म ‘टक्सिक’को कमजोर समीक्षा र खस्किँदो व्यापारको फाइदा समेत उठाउँदै ‘पार्वती’तर्फ दर्शक आकर्षित भएका हुन् ।

अटिजम प्रभावित दिदीप्रति भाइले देखाएको अगाध प्रेम र पारिवारिक संघर्षको भावुक कथावस्तु नै यस फिल्मको सफलताको मुख्य जग बनेको छ ।

हरिहर अधिकारीको निर्माण रहेको यस फिल्ममा नीताका साथै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय रहेको छ ।