‘राइट टाइम, राइट डिसिजन’ गर
शुक्रबारबाट प्रदर्शनमा आउने तय भए पनि अन्तिम समयमा चलचित्र ‘अक्षरा’ पछि हट्यो । भोटेकेशीमा आएको बाढीका कारण दर्शक सिनेमा हेर्नका लागि तयार भइनसकेको भन्ने शासयसहित यो चलचित्र पछि सरेको हो ।
भदौ २६ गते प्रदर्शन हुनुपर्ने यो चलचित्र अब मंसिर २४ मा रिलिज हुनेछ । तीन महिनापछि यो चलचित्र दर्शकमाझ आउनेछ ।
चलचित्रको प्रचार प्रसार भइसकेको थियो । कलाकारहरूले मिडियामा अन्तर्वार्ता दिइसकेका थिए । सामाजिक सञ्जालमा त्यही अनुसारको प्रचारप्रसार भइसकेको थियो । टिजर, गीत, ट्रेलर सबैमा प्रदर्शन मिति भदौ २६ नै उल्लेख थियो ।
सिनेमा हलहरूले शो पनि निकालिसकेका थिए । शो बाँडफाँट पनि भइसकेको अवस्थामा सिनेमा सर्यो । जबकी भोटेकोसी बाढी आएको करिब १५ दिन भइसकेको थियो । भोटेकोसी बाढी आउनबित्तिकै जसरी रेखा थापाको, बिकी अग्रवालको र हरि लम्सालको चलचित्र पछि सरे, त्यसरी यो चलचित्र त्यही बेला पछि सरेन ।
शो निस्किसके पछि तीन महिना पछिलाई सर्यो । दर्शक सिनेमा हेर्न तयार नभइसकेको आकलन गर्दै निर्माताले आफ्नो लगानी यो समयमा रिलिज हुँदा सुरक्षित हुने नदेखेपछि सिनेमा सारे । आआफ्नो मूल्यांकन हो । आफ्नाे सिर्जनामा आफ्नै अधिकार हुन्छ, सार्न सकियो । आफ्नो चलचित्र जहिले रिलिज हुँदा ठिक हुन्छ भन्ने निर्मातालाई लाग्छ, त्यही समयमा ल्याउन पाउनु उसको अधिकार हो ।
तर, एकपटक सबै काम सकेर रोकिएपछि फेरि रिलिज गर्दा खर्च बढ्छ, कलाकारले फेरि दोस्रोपटक सिनेमाको प्रचारप्रसारमा हिँड्न साथ दिन्छन् कि दिँदैनन्, दर्शकको दिमागमा फेरि आफ्नो सिनेमाको रिलिज डेट रजिस्टर्ड गर्न कति सहज छ, फेरि आउने रिलिज डेट र त्यसभन्दा अघिल्लो पछिल्लो हप्ता सिनेमाको संख्या कति छ, कस्ता सिनेमा छन्, त्यो समय रिलिज गर्दा वितरक र प्रदर्शकले कति कम्फर्ट फिल गर्छन् जस्ता कुराले धेरै महत्व राख्छ ।
कुन निर्माताले आफ्नो सिनेमा कहिले रिलिज गर्ने त्यो उसको नितान्त व्यक्तिगत इच्छा र अधिकारको कुरा हो । यसमा वितरक, प्रदर्शक र मिडियाको बलजफ्ती र दबाब रहनु हुँदैन । हरेक निर्माताले आफू सकेसम्म सुरक्षित हुन खोज्छ, र हुनु पनि पर्छ । किनकि चलचित्र निर्माता रहे र नाफामा गए न चलचित्र उद्योग चल्ने हो, फेरि फेरि सिनेमा बन्ने हो ।
त्यसैले निमार्ताले कहिले र कसरी आफ्नो सिनेमा आउँदा सबैभन्दा सुरक्षित हुन्छु भन्ने सोच्नुपर्छ । तर, राइट टाइम, राइट डिसिजन चाहिँ गर्नुपर्छ । सोच, विचार र विश्लेषण गरेर सही समयमा सही निर्णय गर्न सक्नुपर्छ ।




