स्वस्थ प्रतिस्पर्धामा विश्वास गर


अब दशैँ लाग्यो । दशैँको छेको पारेर थुप्रै चलचित्र रिलिज हुँदैछन् । दीपकराज गिरी, पल शाह, समीर भट्ट, दयाहाङ राईलगायत कलाकारका चलचित्र रिलिज हुँदैछन् ।

स्टार अथवा नाम चलेका कलाकारका चलचित्र करिब करिब सँगै रिलिज हुँदैंछन् । एकै दिन रिलिज नभए पनि यी चलचित्र चल्ने समय भनेको दशैँको बिदामा नै हो । दशैँको छेको पारेर र नै यी कलाकारका सिनेमा प्रदर्शन हुन लागेका हुन् ।

प्रायः हरेक दशैँमा करिब आधा दर्जन सिनेमा एउटै समयमा प्रदर्शनमा आउने भएकाले चर्को प्रतिस्पर्धा हुने गरेको छ ।

सिनेमा व्यापार भइसक्यो । सिनेमा आर्टको व्यापार हो । निर्माताले फाइदा होस् भनेर नै करोडौैं लगानी गर्ने हुन्, करोडौैं लगानी गरेर खोलिएका सिनेमा हल पनि ब्यापार गर्न कै लागि हो ।

कलाकार, प्राविधिक सबैले काम गर्ने पनि पैसा कमाउन कै लागि हो । कलाकारलेको अभिनय पेसा हो, प्राविधिकले चलचित्रमा पनि काम गर्नु उनीहरूको पेसा नै हो ।

त्यसैले चलचित्र व्यापार हो । कसैले यो सेवा हो भन्छ भने, यो ढोङ मात्रै हो । व्यापार भएपछि प्रतिस्पर्धा हुन्छ, यो स्वभाविक हो । सकेसम्म मेरो सिनेमाले नाफा गरोस् भन्ने हुन्छ नै । त्यसैले यसमा प्रतिस्पर्धा हुन्छ ।

तर, सरोकार यति मात्रे हो– अस्वस्थ प्रतिस्पर्धा नहोस् । अर्कोलाई सिध्याएर मेरो मात्रै सिनेमा चलाउँछु भन्ने सोच र व्यवाहार कसैमा पनि नहोस् ।

चलचित्र सबैका चल्नुपर्छ, सबैको मेरोजस्तै लगानी छ, मेरो सिनेमा घाटामा जँदा त्यसको असर जति मलाई पर्छ, त्यति नै अर्कोलाई पनि पर्छ भन्ने सबैले ख्याल गर्नुपर्छ । यति हेक्का मात्रै राख्ने हो भने न अस्वस्थ प्रतिस्पर्धा हुन्छ, न कोही कसैको सत्रू नै हुन्छ ।

सिनेमा उद्योग फस्टायो भने नै चलचित्रको व्यापार बढ्ने हो, बजार बढ्ने हो, त्यसैले सबै मिलेर काम गरौँ, स्वस्थ प्रतिस्पर्धामा विश्वास गरौँ ।