‘बाटुलो जून’को ट्रेलरमा क्लासिक लभस्टोरीको झल्को

काठमाडौं । चलचित्र ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता भुवन केसीको निर्देशनमा निर्माण भएको सिनेमाको बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

३ मिनेट १६ सेकेन्ड लामो चलचित्रको ट्रेलरले पुरानो नेपाली ग्रामीण समाजको परिवेशमा हुर्किएको प्रेमकथा, पारिवारिक असहमति र समयसँगै बदलिने सम्बन्धको झलक प्रस्तुत गरेको छ।

भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ट्रेलर हेर्दा सिनेमा ३०–४० को दशकको ग्रामीण परिवेशमा आधारित देखिन्छ । गाउँले जीवन, त्यस बेलाको सामाजिक बनावट र पारिवारिक मान्यताको पृष्ठभूमिमा प्रेमकथा अघि बढेको संकेत ट्रेलरमा पाइन्छ ।

ट्रेलर पूर्णतः अनमोल केसी र प्रिन्सी खतिवडामा केन्द्रित छ । जसको केन्द्रमा ‘काजी’ (अनमोल केसी) छन्, जो गाउँमै पढाउने काम गर्छन् । त्यही क्रममा उनको प्रिन्सी खतिवडाले निभाएको पात्रसँग माया बस्छ । तर काजीको परिवार यो सम्बन्धको पक्षमा छैन । परिवारको असहमति र गाउँको पुरानो सामाजिक मान्यताबीच उनीहरूको प्रेमले पूर्णता पाउला कि नपाउला भन्ने प्रश्न ट्रेलरले खुला छाडेको छ ।

यस्तै, ट्रेलर अनुसार चलचित्र दुई कालखण्ड देखिन्छन् । भुवन केसी र गरिमा पन्त उमेर ढल्किएका पात्रका रूपमा देखिन्छन् भने अनमोल र प्रिन्सीले तिनै पात्रको युवावस्था निभाएका छन् । यसबाट कथा अहिलेको पुस्ताले विगत सम्झने शैलीमा अघि बढ्न सक्ने संकेत मिल्छ । यो भने अनुमान हो, पुष्टि होइन । समग्रमा ट्रेलरले क्लासिक लभस्टोरीको झल्को दिएको छ ।

अनमोलका लागि ‘बाटुलो जून’ अभिनयका हिसाबले पनि फरक चलचित्र बन्ने देखिन्छ । यसअघि प्रायः सहरी र आधुनिक चरित्रमा देखिँदै आएका उनी यसपटक गाउँले शिक्षकको भूमिकामा प्रस्तुत भएका छन् । जुँगा र पुरानो समयको पहिरनमा देखिएका अनमोलको हाउभाउमा उनका पिता भुवन केसीको युवावस्थाको झल्कोसमेत देखिन्छ ।

सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा अनमोल केसी, प्रिन्सी खतिवडा, भुवन केसी, गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी र संगी अधिकारीलगायतका कलाकारको अभिनय छ ।

चलचित्रको लेखन सामिप्यराज तिमल्सेना र सरिन पोखरेलले गरेका हुन् भने निर्माता जीया केसी र भविष्य खड्का हुन् ।