बाबु-छोराले सक्काए ‘बाटुलो जुन’को सुटिङ, अनमोल अब ‘ए मेरो हजुर ५’ मा व्यस्त हुने

काठमाडौं । नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘बाटुलो जुन’को छायांकन सम्पन्न भएको छ । विभिन्न चरणमा छायांकन गरि अन्तिम तालिका पूरा गरेसँगै चलचित्रको ‘इन्ड क्ल्याप’ गरेको हो ।

चलचित्रको सोमबार वर्षाको दृश्य खिचिएसँगै निर्माण टोलीले छायांकन सम्पन्न भएको उल्लेख गरेका छन् ।

‘सनराइज पिक्चर्स प्रालि’को ब्यानरमा निर्माण भएको यस चलचित्रलाई अभिनेता भुवन केसीले निर्देशन गरेका हुन् । वि.सं. २०७२ मा प्रदर्शनमा आएको चलचित्र ‘ड्रिम्स’को करिब ९ वर्षको अन्तरालपछि भुवनले निर्देशनमा हात हालेका हुन् ।

भुवनले यस अगाडि करोडपति, नेपाली बाबु, म तिमिबिना मरिहाल्छु लगायतका चलचित्र निर्माण गरेका थिए ।

यस चलचित्रले पारिवारिक कथा, भावना र समकालीन सामाजिक परिवेशलाई समेट्ने बताइएको छ । यो सिनेमाको रोचक पक्ष भनेको अनमोलको चरित्र हो । सधैं ‘लभर बोय’ र ‘चकलेटी’ भूमिकामा रुचाइएका अनमोल यसपटक पहिलोपटक ‘ग्रामीण युवक’को भूमिकामा देखिँदैछन् । उनले आफ्नो गेटअप र अभिनयमा यो चलचित्रका लागि निकै मिहिनेत गरेको निर्माण पक्षको दाबी छ ।

छायांकन सकिएसँगै चलचित्र अब सम्पादनको चरणमा प्रवेश गरेको छ । निर्माण पक्षका अनुसार अबको केही समयमै चलचित्रको टिजर, फस्टलुक पोस्टर र गीतहरू क्रमशः सार्वजनिक गरिनेछन् ।

चलचित्रमा भुवन र अनमोलसँगै प्रिन्सी खतिवडा, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय छ । टिकटकर प्रिन्सीको यो डेब्यु सिनेमा हो ।

‘बटुलो जुन’ को सुटिङबाट फर्किएलगत्तै अनमोल अर्को प्रोजेक्ट ‘ए मेरो हजुर ५’ को तयारीमा जुट्ने भएका छन् । झरना थापाको निर्देशन रहने यो चलचित्र अनमोलका लागि अर्को महत्वपूर्ण सिनेमा हो । यसका साथै उनले सम्झौता गरिसकेका अन्य चलचित्रहरूको काम पनि क्रमशः अगाडि बढ्ने बताइएको छ ।

यस चलचित्रको निर्माता जीया केसी र भविष्य खड्का हुन् । चलचित्रमा सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन छ ।

ठूलो क्यानभासमा निर्माण भइरहेको भनिएको यस चलचित्रको बजेट चलचित्र विकास बोर्डमा भने मात्र २५ लाख रुपैयाँ उल्लेख गरिएको छ ।

‘बटुलो जुन’ आगामी असोज ३० गते (दशैंपछिको अवसर) पारेर प्रदर्शनमा आउने लक्ष्य राखिएको छ ।

‘ड्रिम्स’ पछि बाबु-छोराको यो दोस्रो सहकार्यले बक्स अफिसमा कस्तो जादु चलाउला भन्नेमा सिने वृत्तमा चर्चा सुरु भइसकेको छ ।