समीरलाई लगानी उठाउने र पहिलो सिनेमाको शाख जोगाउने चुनौती

काठमाडौं । यही दशैँको फूलपातीमा चलचित्र ‘बलिदान’ प्रदर्शनमा आउँदैछ । समीर भट्ट स्टारर चलचित्र वर्षकै प्रतिक्षितमध्येको एक हो ।

एक्सनका कारण यो सिनेमा यतिबेला चर्चामा छ । राम्रो हाइप पनि बनाएको छ । हाइप अनुसारको शो पनि पाएको छ । सँगै प्रदर्शनमा आउने अन्य दुई ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले भन्दा धेरै शो पनि पाएको छ ।

यतिबेला यो चलचित्रले कति ग्रस कलेक्सन गर्छ भन्ने धेरैको जिज्ञासा छ । समीरको पहिलो सिनेमा ‘१२ गाउँ’ले नेपालमा मात्रै करिब २० करोड रुपैयाँ कलेक्सन गरेको थियो ।

‘१२ गाउँ’पछि समीरको यो दोस्रो सिनेमा हो । समीरको दोस्रो सिनेमाले कति कलेक्सन गर्ला भन्ने जिज्ञासा हुने स्वभाविक पनि हो । ‘बलिदान’ बिग बजेटमा बनेको सिनेमा हो । त्यसैले लगानी उठाउन पनि निर्माण टिमलाई ठूलो दबाब छ ।

समीर पनि दबाबमा नै छन् । एकातिर पहिलो सिनेमाको शाख जोगाउनु पर्ने दबाबमा उनी छन् । दोस्रो कुरा बिग बजेटमा बनेकाले लगानी सुरक्षित गर्न मात्रै पनि ठूलो रकम कलेक्सन गर्नुपर्नेछ ।

निर्माणपक्षको दाबी अनुसार, ‘बलिदान’मा ९ करोडभन्दा बढी लगानी भएको छ । यदि, साँच्चै ९ करोड नै लगानी भएको हो भने २५ करोड रुपैयाँको व्यापार गर्नुपर्छ ।

‘बलिदान’ले पाएको शो, निर्माण घोषणादेखि नै पाएको चर्चा, बनाएको हाइप र देखिन थालेको अग्रिम बुकिङले भने ‘बलिदान’ले राम्रै संकेत देखाएको छ । बिहान रातिदेखि मध्यरातिसम्मका शोले पनि दर्शकले रुचाएको खण्डमा सिनेमाले राम्रो गर्नसक्ने देखाएको छ ।

‘बलिदान’मा समीर भट्टसँगै सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेशजंग पौडेललगायत कलाकारको अभिनय रहेको छ ।

वर्षकै प्रतिक्षित सिनेमा ‘बलिदान’ दशैंको फूलपातीका दिनबाट वल्र्डवाइड रिलिज हुँदैछ ।

आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको ‘बलिदान’को लेखन दर्शन जीले गरेका छन् । निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी छन् ।