छायांकन सुरु भइसकेको ‘बाटुलो जून’मा नयाँ निर्माता थपिएपछि शुभमुहूर्त
काठमाडौं । अभिनेता भुवन केसीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘बाटुलो जून’ दोस्रो चरणमा प्रवेश गर्दै फेरि शुभमुहूर्त गरिएको छ ।
यो चलचित्रको निर्माण पक्षले गत असार १४ गते नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडाको फर्स्ट लुक्स सार्वजनिक गर्दै धादिङको नौबिसेस्थित काउलेबाट पहिलो चरणको छायांकन सुरु गरेको थियो ।
पहिलो चरणको छायांकन सुरु हुँदा अङ्गुर खेतीको दृश्य समेट्नुपर्ने भएकाले निर्माण टिमले केही दिनमै पहिलो चरण खिचेर बाँकी छायांकन भदौ महिनामा गर्ने तयारी गरेको थियो । तर, शुक्रबार यो चलचित्रमा नयाँ निर्माता समावेश भएपछि पुनः विशेष पूजा गरी फ्लोरमा निस्किएको हो ।
शुरुवातमा जिया केसीको लगानीमा निर्माण हुँदै आएको ‘बाटुलो जून’मा निर्माता भविष्य खड्का पनि आधिकारिक रूपमा जोडिएपछि पाटनस्थित बगलामुखी मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गरी शुभसाइत गरिएको निर्माण टिमले जनाएको छ । खड्का हालैको सफल चलचित्र ‘जेरी अन टप’की निर्मात्री पनि हुन् ।
झण्डै १० वर्षपछि निर्देशकको रूपमा भुवन केसी ‘बाटुलो जून’मार्फत ‘एक्सन कट’मा फर्किँदै छन् । पछिल्लो पटक उनले निर्देशन गरेको फिल्म ‘ड्रिम्स’ रिलिज भएको थिए । यसपटक स्टार अभिनेता अनमोल केसीलाई मुख्य भूमिकामा देखाइने यो फिल्ममा भुवन केसी आफैं समेत प्रमुख अभिनयमा छन् ।
सिनेमामा प्रिन्सी खतिवडा र नेन्सी खड्का अनमोलका सहकलाकारका रूपमा रहेका छन् भने प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा लगायत कलाकारहरूको बलियो उपस्थिति रहनेछ ।
निर्देशक केसीका अनुसार ‘बाटुलो जून’ ग्रामीण परिवेशमा आधारित एक गहिरो प्रेमकथा हो । अनमोल केसीलाई यसअघि दर्शकले देख्दै आएको भन्दा बिल्कुल फरक अवतार र लुक्समा प्रस्तुत गरिने उनले बताएका छन् ।
निर्माण टिमका अनुसार ४५ दिनको छायांकन सेड्युअलसहित फ्लोरमा निस्किएको ‘बाटुलो जून’ काठमाडौं, काभ्रे, चित्लाङ, ढोरपाटन, पोखरा लगायतका रमणीय स्थलहरूमा खिचिनेछ ।
चलचित्रमा तेजबिक्सम केसी कार्यकारी निर्माता छन् । स्क्रिप्ट सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलले लेखेका हुन् । एसोसिएट निर्देशक प्रदीप श्रेष्ठ रहेका यस चलचित्रको छायांकन राजेश श्रेष्ठले, कोरियोग्राफी रेनशा वान्तवा राईले गर्नेछन् ।



