‘झरीपछिको इन्द्रेणी’को ट्रेलरमा जेनजी आन्दोलन

काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक भएको छ । पुस ४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा केही समय अगाडि भएको जेनजी आन्दोलन केन्द्रमा छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन, भ्रष्टार र कुशासनविरुद्ध भएको आन्दोलन ट्रेलरमा देखाइएको छ ।

जेनजी आन्दोलन, आन्दोलनकारीले गरेको आगजनी र आक्रमणपछि सुरक्षित स्थानमा बसेका नेताको कथा ट्रेलरमा समेटिएको छ ।

ट्रेलरमा अभिभावकले सन्तानलाई दिने दबाब, छोराछोरीको विदेश मोह, अविश्वास, प्रतिरोध र प्रतिशोध देख्न सकिन्छ ।

चलचित्र ‘झरीपछिको इन्द्रेणी’लाई हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशन गरेका छन् । मुख्य भूमिकामा गणेश उप्रेती छन् । ‘झरीपछिको इन्द्रेणी’मा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जनलगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रको एउटा गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् । चलचित्रलाई बुद्ध थापाले खिचेका छन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको चलचित्रको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका छन् ।