‘बिगुल’को टिजरमा राजनीति, राष्ट्रियता, सम्बन्ध र जेनजी आन्दोलन
काठमाडौं । चलचित्र ‘बिगुल’को टिजर सार्वजनीक गरिएको छ । आगामी माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको टिजरमा देशको वर्तमान राजनीति, राष्ट्रभक्ति र सम्बन्धको जिम्मेवारी छ ।
रमेश कोइरालाको निर्देशन रहेको चलचित्रमा जेनजी आन्दोलन पनि प्रस्तुत गरिएको छ । ‘बिगुल’को कथा दिनेश कोइरालाको छ । निर्देशक कोइरालाले हरेक नागरिकलाई आफ्नो देश र समाजप्रति जिम्मेवार बनाउन सिनेमाले भूमिका खेल्ने बताएका छन् ।
कथाकार तथा निर्माता कोइरालाले ‘बिगुल’मा आफूहरुले उठाएको मुख्य मुद्दा र अहिले जेनजी पुस्ताले राखेको माग, देश विकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको विषय मिल्न गएको बताए ।
‘बिगुल’मा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतको अभिनय छ ।
सिनेमाको पटकथा तथा संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका छन् । शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत रहेको सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् ।
सूर्यकान्त कोइराला र महेश कोइराला सह–निर्माता रहेको सिनेमाको बितरण काफिया फिल्मस् र श्री ब्यांकटेस इन्टरटेन्मेन्टले गर्नेछन् ।



