बालेनले बुवाको कथा समेटेर ल्याए ‘आम नेपाली बुवा’, यस्तो छ ‘झरीपछिको इन्द्रेणी’ को गीत

काठमाडौं । फिल्म ‘झरीपछिको इन्द्रेणी’ को दोस्रो गीत ‘आम नेपाली बुवा’ युट्युबमा सार्वजनिक गरिएको छ । आइतबार बेलुका काठमाडौं महानगरपालिका मेयर तथा र्‍यापर बालेन शाहको र्‍याप समावेश गीत उनकै युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यसको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ समावेश गरिएको छ । जसको मूल स्वर रविन शर्मा र संगीत रञ्जित गजमेरको हो ।

‘आम नेपाली बुवा’ मा र्‍याप गायन र त्यसको शब्द बालेनको छ । दीक्षा उप्रेतीको कोरस गायन छ । आम बुवाको संघर्ष, भावना र जिम्मेवारीलाई बालेनले यस गीतमा प्रस्तुत गरेका छन् । भावनात्मक शब्द, सशक्त र्‍याप रहेको गीतले सामाजिक सन्देश बोकेको छ । गीतको भिडिओमा भने फिल्मका दृश्यहरूलाई समेटिएको छ । बालेनले हालै दिवंगत आफ्ना बुवा डा. रामनारायण शाहप्रति गीत समर्पित गरेका छन् । गीतलाई सम्पूर्ण बुवाहरूप्रति समर्पित भनिएको छ ।

अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित ‘झरीपछिको इन्द्रेणी’ पुस ४ अर्थात आउँदो शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेललगायत कलाकारहरूको अभिनय छ ।

टेलिसिरियलका दर्शकमाझ चर्चित अर्जुन घिमिरे ‘पाँडे’ को ‘झरीपछिको इन्द्रेणी’ डेब्यु फिल्म हो ।