विष्णु माझीको ‘सरप्राइज’ गीत- बजारमा चर्चा बटुल्दैछ कि छैन?

काठमाडौं । लोकदोहोरी क्षेत्रकी ‘रहस्यमयी’ तथा चर्चित गायिका विष्णु माझीले लामो समयपछि आफ्नै कम्पनी बाहिरको गीत गाएर स्रोता/दर्शकलाई ठूलो सरप्राइज दिइन् ।

विष्णुको स्वरमा शनिबार ‘झोर्ले हजुर’ बोलको गीत सार्वजनिक हुँदा लोकदोहोरी क्षेत्रमा राम्रै चर्चाको विषय बन्यो । तर गीतलाई लिएर जति चर्चा भयो, यसले रिलिजको प्रारम्भिक चरणमा बजारमा सोचेजस्तो जादू भने चलाउन सकेको देखिँदैन ।

विष्णु र गायक बाबुकृष्ण परियारको स्वर रहेको गीतले सोमबार बेलुकासम्म २ लाख भ्युजको आँकडा पनि पार गर्न सकेको छैन । विष्णु माझीको गीत आउँदा यसअघि जति चर्चा र त्यसले भ्युज पाउँथ्यो, यसपटकको प्रारम्भिक प्रतिक्रिया र भ्युजलाई अपेक्षित मान्न सकिँदैन ।

विगत केही वर्षयता विष्णु माझीले आफ्नै कम्पनी ‘सपना म्युजिक इन्डस्ट्रिज’ भन्दा बाहिरका गीतमा स्वर दिन पूर्णतः छाडेकी थिइन् । वर्षभरि शान्त रहने उनको स्वर सुन्न स्रोताहरूले तीज र दशैं नै कुर्नुपर्ने बाध्यता थियो । तीजका बेला उनले गाएका विरह र वेदनाका गीतहरूले चौबीस घण्टामै लाखौं भ्युज बटुल्ने गरेका थिए । तर, यसपटक तीज आउनुभन्दा निकै अगाडि र त्यो पनि अलि फरक खालको गीतमार्फत उनी स्रोतामाझ आइन् ।

मगर संस्कृति तथा भाषाको अभिवादन शब्द ‘झोर्ले’ लाई बिम्ब बनाएर आएको गीतले लोकदोहोरी क्षेत्रमा ठूलै तरंग त ल्यायो । धेरै वर्षपछि बाहिरी प्रोजेक्टमा विष्णुको स्वर सुन्न पाउनु आफैंमा एउटा ठूलो चर्चाको विषय बन्यो । तर, यो चर्चा युट्युबको भ्युजमा भने रूपान्तरण हुन सकेको देखिएन ।

शनिबार बिहान सार्वजनिक गीतले सोमबार रातिसम्म आइपुग्दा २ लाख भ्युज पनि कटाउन नसक्नुलाई लोकदोहोरी वृत्तमा आश्चर्यका साथ हेरिएको छ । ‘झोर्ले हजुर’ गीतको शब्द रमेश बिजीले लेखेका हुन् भने संगीत स्वयं बाबुकृष्णकै छ । संगीत संयोजनको काम श्यामश्वेत रसाइलीले गरेका हुन् ।

मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार गीतको भिडिओमा गायक बाबुकृष्ण परियार र सुजैन सिंह खड्काको नृत्य तथा अभिनय देख्न सकिन्छ । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

लामो समयपछि विष्णु माझीले टर्र्याक परिवर्तन गर्दै फरक विधाको गीत गाउनु र बाहिरी ब्यानरमा सहकार्य गर्नु सकारात्मक मानिएको छ । यद्यपि प्रारम्भिक चरणमा गीतले अपेक्षित व्यावसायिक गति लिन नसक्नुले स्रोताहरू उनलाई पुरानै ‘तीज शैली’ र ‘बिरह’कै भाकामा सुन्न बढी रुचाउँछन् कि भन्ने प्रश्न भने उब्जाएको छ ।

तर अहिले सोचेजस्तो रफ्तार पक्रिन नसके पनि आशा गरौं– आगामी दिनमा ‘झोर्ले हजुर’ले भ्युजमा गति समात्नेछ ।

यो गीत बाबुकृष्ण परियारको अफिसियल युट्युबमा हेर्न सकिन्छ ।