चलचित्र उद्योगलाई फापेन मंसिर, चिसियो बक्सअफिस

काठमाडौं । चलचित्र ‘जेरी अन टप’ले आशा जगाएको नेपाली चलचित्रको बजार त्यति बेला हौसियो जब ‘परान’ले गति लियो । ‘जेरी अन टप’ले समाएको दोहोरो अंकको कमाइलाई ‘परान’ले निरन्तरता मात्रै दिएन, उछिन्यो पनि ।

‘जेरी अन टप’ले सवा १२ करोड कमाउँदा ‘परान’ले करिब साढे १७ करोड रुपैयाँ ग्रसकलेक्सन ग¥यो । यी दुईवटा सिनेमाको बजार देखेर हौसिएका नेपाली चलचित्रका निर्माता भने त्यतिबलो निराश भए जब बजारको पारो फरक्कै फर्किएर शून्य प्रायःमै झर्यो ।

मंसिरमा रिलिज भएका नेपाली चलचित्रलाई एक करोडको आंकडा पार गर्न पनि कठिन भयो ।

मंसिरमा ६ वटा नेपाली चलचित्र रिलिज भए । तर, कसैले पनि एक करोडको आंकडा पार गर्न सकेनन् । मंसिर ५ गते प्रदर्शनमा आएको ‘लडाइँ पहिचानको’, १२ गते प्रदर्शनमा आएको ‘हर्ष’ र १८ गते प्रदर्शनमा आएको ‘अभिमन्यु’ले ५० लाख पनि कमाउन सकेनन् । यी चलचित्र ३० लाखभन्दा तलै रहे ।

मंसिर २६ गते ‘पीआर’, ‘लोकन्ती’, ‘चिराग’ रिलिज भए । यी चलचित्रको बक्सअफिस रिपोर्ट हालसम्म सार्वजनिक भएको छैन । तर, यी चलचित्रको पनि कलेक्सन राम्रो नदेखिएको खबर छ । त्यसैले यी चलचित्रले पनि बक्सअफिसमा जादु छर्ने कुनै गुञ्जायस छैन ।

त्यसैले मंसिरको चिसो सँगै नेपाली सिनेमाको बक्सअफिस पनि चिसियो ।

अब पुसमा ‘झरिपछिको इन्द्रेणी’, ‘एक्लो’ र ‘मुगलान’लगायत चलचित्र रिलिज हुँदैछन् । यी चलचित्रले चिसिएको नेपाली सिनेमाको बजारलाई तताउने छन् वा पुसको ठिही जस्तै झन चिस्याउने छन्, त्यो भने हर्न बाँकी छ ।