धुर्मुसबारे ‘पाँच पाण्डव’का निर्देशकले खोले मुख, के भने ?
काठमाडौं । एक्स्ट्रा अर्डिनरी भिसामा अमेरिका पुगेका सिताराम कट्टेल ‘धुर्मुस’ चलचित्र ‘पाँच पाण्डव’ नखेल्ने भए भनेर हल्ला चलिरहेका बेला यसका निर्देशकले मुख खोलेका छन् ।
केही समयअगाडि अमेरिका पुगेका धुर्मुस अब फर्किंदैनन् भनेर धेरैले अड्कलबाजी गरिरहेका बेला ‘पाँच पाण्डब’का निर्देशक वसन्त निरौलाले धुर्मुस सिनेमा खेल्न आउने बताएका छन् ।
“सिताराम सर, छोरी सुबिहानीको उपचारको प्रबन्ध मिलाएर सिनेमा खेल्न नेपाल आउँदै हुनुहुन्छ,” निर्देशक निरौलाले भने, “अबको केही समयपछि उहाँ नेपाल आउनु हुनेछ ।”
चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको विषयलाई लिएर विवादमा फसेका धुर्मुस अब अमेरिका पलायन भए भनेर भनिरहेका बेला उनी नेपाल आउने निर्देशक निरौलाले दाबी गरेका हुन् ।
केही दिन अगाडि धुर्मुसले फेसबुकमा लामो स्टाटस लेख्दै आफू नेपालमै काम गर्न इच्छुक रहेको बताएका थिए ।
‘पाँच पाण्डव’को मुख्य कलाकारमध्ये एक धुर्मुस पनि हुन् । यो चलचित्रको कात्तिक १८ गते शुभमुहूर्त गरिएको थियो । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) रहनेछन् । यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन् ।
चलचित्र नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माणपक्षले प्रष्ट पारेको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र रजनी गुरुङ रहने छन् । चलचित्रका अन्य केही कलाकारहरू फाइनल हुन बाँकी छ ।
काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् ।



