‘बलिदान’पछि कता हराए समीर भट्ट, किन हो यो मौनता ?

काठमाडौं । चलचित्र ‘१२ गाउँ’ गत वर्षको दशैँमा रिलिज हुँदा नेपाली सिनेमा उद्योगमा कसैको चर्चा र तारिफ थियो भने त्यो नाम थियो, समीर भट्ट ।

चर्चा समान्य थिएन । तारिफ असामान्य थियो । नेपाली सिनेमा उद्योगले एउटा कम्प्याक्ड एक्सन हिरो भेट्टाएको चर्चा थियो । नाच्न जान्ने, बलिउडका एक्सन हिरोको जस्तो सुगठित शरीर भएको टल एन्ड हेन्डसम समीर भन्दै मुक्तकण्ठले प्रशंसा भयो ।

जसै ‘१२ गाउँ’ २० करोडको आंकडाको छेउ पुग्यो, यसको सम्पूर्ण श्रेय समीरले आफ्नो पोल्टामा पारे ।

‘१२ गाउँ’ नउत्रिदै उनको ‘बलिदान’के चर्चा सुरु भयो । ‘बलिदान’को चर्चा यति भयो, यसले धरहराको टुप्पो सहजै नाघ्यो । कतिपयले यसले नेपाली चलचित्रका धेरै रेकर्डहरू ब्रेक गर्दै अगाडि बढ्ने घोषणा नै गरे ।

तर, जब एक वर्षको प्रतिक्षा पछि समीरको काँधमा चढेर ‘बलिदान’ रिलिज भयो । सोचेजस्तो भएन । न समीक्षाले राम्रो भने न बक्सअफिसमा नै कमाल गर्न सक्यो । ‘बलिदान’ ५ करोडको सेरोफेरोमा सीमित हुँदा यो बक्सअफिस रिपोर्टले समीरको स्टारडम सोचेजस्तो नचलेको देखायो ।

जे होस्, सबै स्टारका सबै सिनेमा चल्दैनन्, यो सबैले स्वीकार्नुपर्छ । यो आठौं आश्चर्य होइन । सामान्य प्रक्रिया हो । अपेक्षा कसरी राख्ने भन्ने मात्रै हो ।

‘बलिदान’को प्रचारमा हिँड्दा समीरले अब होम प्रोडक्सनको ब्यानरमा आफू अभिनीति सिनेमा आउने बताएका थिए । त्यो भनेको ‘१२ गाउँ २’ हो । तर, उनले नामै किटेर ‘१२ गाउँ २’ भनेका थिएनन्, मात्रै अब सुरुमा बुवा बिराज भट्टसँगको सिनेमा होम प्रोडक्सनबाटै आउने बताएका थिए ।

तर, अहिले समीर के गर्दैछन्, ‘१२ गाउँ २’को काम गर्दैछन् कि छैनन्, अथवा होम प्रोडक्सनकै अर्को सिनेमा गर्दैछन् ? केही कुरा बाहिर आएको छैन । न समीर र विराज बोलेका छन्, न त यसबारे केही खबर र हल्ला नै आएका छन् । मात्रै उनीहरु मौन छन्, हराएसरह छन् ।

‘बलिदान’को प्रचार कै क्रममा उनले अरुको सिनेमाका लागि स्क्रिप्ट सुन्न सकिने र राम्रो लागे समय मिलाएर काम गर्न सकिने बताएका थिए । कतै समीर चुपचाप लागेर अरुको ब्यानरको सिनेमा त गर्दै छैनन् ? यसबारे पनि केही कुरा आएको छैन । उनी यतिबेला मौन छन् । मिडियामा आएका छैनन् । सार्वजनिक कार्यक्रममा देखिँदैनन् ।

तर, समीरले अरुको ब्यानरको सिनेमा होम प्रोडक्सनको ब्यानरभन्दा पहिला गर्ने सम्भावना भने निकै न्यून छ । किनकी अब आउने सिनेमा पनि राम्रोसँग चलेन भने उनी अहिले जे छन्, त्यो रहँदैनन्, उनको चर्चा जे छ, त्यो रहँदैन भन्ने समीर र विराजलाई प्रष्टै थाहा छ ।