प्रकाश सपूत स्टेज प्रस्तुतीमा फर्किएपछि दर्शक भन्छन्- ‘बाघले आराम गरेको थियो, अब निस्कियो’
काठमाडौं । हातमा माइक, अगाडि हजारौँको बाक्लो भीड र स्टेजमा त्यही पुरानो जादुमयी ऊर्जा । दुई वर्षसम्म स्टेजबाट ओझेल परेका गायक तथा अभिनेता प्रकाश सपूत फेरि आफ्नै लयमा फर्किएका छन् ।
पछिल्लो समय चलचित्र अभिनयमा व्यस्त हुँदा प्रकाश मेला-महोत्सव र कन्सर्टबाट टाढिएका थिए । कतिपयले त भन्न समेत भ्याए, ‘अब प्रकाशको क्रेज पहिले जस्तो रहेन ।’ तर, अहिले देशका विभिन्न जिल्लामा भइरहेका उनका प्रस्तुति र त्यहाँ उर्लिएको जनसागरले भनिरहेको छ, प्रकाशको जादु घटेको होइन, क्रेज अझै उस्तै छ ।
प्रकाशले सामाजिक सञ्जालमा शेयर गरेका कन्सर्टका भिडियोहरूमा फ्यानहरूको उत्साह लोभलाग्दो देखिन्छ । जहाँ उनको प्रस्तुतिमा हजारौँ दर्शक पागल झैँ झुमिरहेका देखिन्छन् ।
दुई वर्षसम्म स्टेजबाट टाढा रहेका प्रकाशले जब माइक समाते, माहोल यसरी तातियो कि हेर्नेहरू दंग परे । उनका हरेक शब्दमा दर्शकहरूले साथ दिइरहेका छन् ।
सपूतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेको यस्तै एउटा भिडियोमा एक प्रशंसकले टिप्पणी गरेका छन्, ‘बाघले आराम गरेको थियो, अब निस्कियो !’ यो एउटै वाक्यले प्रकाशको पुनरागमन र उनको उचाइलाई प्रस्ट पार्छ ।
लामो समयको ग्यापपछि स्टेजमा फर्किएका सपूत यतिबेला फुर्सदिला छैनन् । उनले पुस महिनाभरिको आफ्नो कार्यतालिका सार्वजनिक गरिसकेका छन् । उनी अब रुपन्देही, दाङ, कोहलपुर, पोखरा, गोरखा र बागलुङ लगायतका स्थानमा पुगेर दर्शकलाई झुमाउने तयारीमा छन् ।
गीतमा मात्र होइन, दर्शकसँगको आत्मीय संवाद र स्टेजमा देखिने उनको ‘क्रेजी’ प्रस्तुतिले उनलाई फेरि एकपटक लाइभ कार्यक्रमको ‘राजा’ सावित गरिदिएको छ ।
स्टेजको धमाका सकिएलगत्तै प्रकाश सपूत फेरि फिल्मको प्रमोसनमा होमिनेछन् । उनले अभिनय गरेको सिनेमा ‘मिरमिरे’ आउँदो माघ १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।
यो फिल्ममा दयाहाङ राई र प्रकाश सपूत पहिलोपटक पर्दामा सँगै देखिँदैछन् । दुई फरक क्षेत्रका ‘स्टार’ हरूको यो जुगलबन्दी हेर्न दर्शकहरू निकै उत्साहित छन् ।
गायनमा तहल्का मच्चाएर फेरि स्टेज फर्किएका प्रकाशले फिल्म ‘मिरमिरे’ मार्फत पर्दामा कस्तो प्रभाव छाड्ने हुन् ? त्यो भने हेर्न बाँकी नै छ । तर अहिलेलाई यति भन्न सकिन्छ, प्रकाश सपूत इज ब्याक !



