विदेशी सिनेमाले नेपालबाटै करोडौं कमाउँदा नेपाली देखिए निकै कमजोर
काठमाडौं । वार्षिक तथ्यांक केलाउने हो भने केही वर्ष यता नेपाली बजारमा भारतीयभन्दा नेपाली चलचित्र नै बक्सअफिसमा अगाडि देखिन्छन् । संख्या विदेशी चलचित्रको धेरै हुने तर बक्सअफिस भने नेपाली चलचित्रको धेरै हुने गरेको छ ।
तर, केही महिना यताको तथ्यांक हेर्ने हो भने विदेशी चलचित्र नेपाली बक्सअफिस तथ्यांकलाई उछिनेको देखिन्छ । चलचित्र ‘परान’ले नेपालमा करोडौं कमायो । प्रदर्शनको ६० दिन कटाइसकेको यो चलचित्रले १८ करोड नजिक कलेक्सन गरेको छ ।
तर, त्यसपछि भने नेपाली चलचित्रको व्यापार फेरि सुस्ताएको छ । विदेशी चलचिले नेपालबाट करोडौं कमाइरहेका छन् । नेपाली चलचित्रको अवस्था भने निकै नाजुक छ ।
मंसिर र पुसमा रिलिज भएका नेपाली चलचित्रले राम्रो कमाइ गर्न सकेनन् ।
मंसिर १२ गते रिलिज नेपाली फिल्म ‘हर्ष’ले जम्मा २८ लाख ७८ हजार कमाउँदा सोही दिन रिलिज भारतीय सिनेमा ‘तेरे इश्क में’ले नेपालमा ३ करोड ६२ लाख ७ हजार कमाएको छ । मंसिर १८ मा रिलिज नेपाली चलचित्र ‘अभिमन्यु’ले २१ लाख ५० हजार कमाएको छ । यो चलचित्रले रिलिजको अर्को दिन रिलिज बलिउड फिल्म ‘धुरन्धर’को नेपाल कमाइ ९ करोड नजिक पुगिसकेको छ ।
नेपाली फिल्म ‘पिआर’ले जम्मा ६ लाख ७५ हजार कमाएको छ । सोही दिन रिलिज नेपाली फिल्म ‘चिराग’ले ६८ हजार मात्रै कारोबार गरेको छ । ‘लोकन्ती’को अवस्था पनि उस्ते रह्यो यो चलचित्रले चार लाख मात्रै कलेक्सन गरेको छ ।
पुस ४ मा रिलिज ‘झरीपछिको इन्द्रेणी’ ले ९ दिनमा ६२ लाख ६९ हजार रुपैयाँ कमाउँदा सोही दिन रिलिज हलिउड फिल्म ‘अवतारः फायर एण्ड एस’ ले ९ दिनमै नेपालमा ४ करोड ६५ लाखभन्दा माथिको कमाइ गरेको छ ।
तर, केही वर्ष यता वर्षभरीको बक्सअफिस कलेक्सन हेर्ने हो भने नेपाली चलचित्र धेरै अगाडि छन् । नेपालमा विसं. २०८१ मा ५९ वटा नेपाली चलचित्र रिलिज हुँदा सोही अवधीमा ८३ वटा विदेशी भाषाका चलचित्र रिलिज भएका थिए ।
नेपालका सिनेमा हलमा नेपालीभन्दा २४ वटा बढी विदेशी चलचित्र रिलिज भएका थिए ।
५९ वटा नेपाली चलचित्र रिलिज हुँदा एक अर्ब ६२ करोड ६३ लाख ९३ हजार ६०२ रुपैयाँ ग्रसकलेक्सन भएको थियो ।
हिन्दी र अंग्रेजी गरी विदेशी भाषाका ८३ चलचित्र रिलिज हुँदा ८९ करोड ५८ लाख ७१ हजार ७१४ रुपैयाँ ग्रसकलेक्सन भएको थियो ।
नेपाली र विदेशी भाषाका गरी १४२ वटा सिनेमा रिलिज हुँदा दुई अर्ब ५२ करोडभन्दा माथि ग्रसकलेक्सन भएको थियो ।



