मनीषा कोइरालालाई जब बलिउडका नामी निर्माताले ‘तिमी खत्तम रहिछ्यौ’ भने

काठमाडौं । बलिउड नायिका मनीषा कोइरालाले भारतीय सिनेमा उद्योगमा आफूलाई स्थापित गराउन ठूलो संघर्ष गरेकी छन् । संघर्ष र सिनेमाप्रतिको लगावकै कारण उनले संसारकै दोस्रो ठूलो सिनेमा उद्योग बलिउडमा लामो समय एक नम्बर नायिका भएर काम गरिन् ।

बलिउडमा पहिलो सिनेमाका लागि उनले दिएको अडिसन भने निकै रोचक छ । जब उनी ‘१९४२ : अ लभ स्टोरी’का लागि स्क्रिन टेस्ट दिँदा उनले पाएको प्रतिक्रिया उनले अहिलेसम्म बिर्सन सकेकी छैनन्, जुन निर्माता विधुविनोद चोपडाले दिएका थिए ।

“वरिष्ठ फिल्म निर्माता विधुविनोद चोपडाले मलाई एउटा दृश्य गर्न बोलाउनुभएको थियो । तर, अन्तिममा उहाँले दिनुभएको प्रतिक्रियाले म हतोत्साहित भएकी थिएँ,” उनले भनेकी छन्, “मनीषा, तिमी खत्तम रहिछ्यौ । तिमी एकदमै खराब अभिनेत्री रहिछ्यौ ।”

तर, यो मनीषाका लागि स्वीकार्य थिएन । उनले यसलाई चुनौतीका रुपमा लिइन् ।

“मेरा लागि त्यो स्वीकार्य थिएन । म भित्रको लडाकु महिलामाथि यो चुनौती थियो । मैले उनीसँग दोस्रो अवसर र तयारी गर्न २४ घण्टाको समय मागेँ,” मनीषाले भनेकी छन्, “घर फर्किएपछि मैले आफ्ना लाइनमा पूर्ण रूपमा डुबेर बोल्ने अभ्यास गरें, घरीघरी त्यही दोहोर्याइरहँदा मेरी आमा मेरो अवस्था देखेर तनावमा आउनुभयो । के गरेको यो आफूले आफूलाई ? यो फिल्म तिमीले नपाए पनि केही छैन । यसका लागि आफूलाई नमार ।”

तर, मनिषाले हिम्मत हारिनन् । उनले २४ घण्टामा आफूलाई सक्लो पोख्थ पार्ने प्रयास गरिन् । “अर्को दिनको प्रदर्शनमा मैले आफ्नो आत्मा ने छताछुल्ल बनाइदिएँ । विधु धेरै बेर एकोहोरिएर चुपचाप बसे । केही समयपछि उनले भनेका शब्दले मेरा आँखाबाट आँसु झरे,” मनीषा भन्छिन्, “यदि, तिमीले हरेक सिनमा यसै गरी आफ्नो मन र आत्मा दिने बाचा गछ्यौ भने म माधुरी दीक्षितको स्थानमा तिमीलाई यो फिल्ममा लिन्छु । मनीषा, हिजो तिमी शून्य थियौ । आज सय छौ, यसरी म १९४२ मा अनुबन्धित भएकी थिएँ ।”

‘१९४२ : अ लभ स्टोरी’ बक्सअफिसमा हिट भयो । समीक्षकहरूले उनको प्रतिभाको खानी नै रहेको भनेर प्रशंसा गरे । त्यसपछि मनीषाले बलिउडमा पछि फर्किएर हेर्नु परेन । उनले वर्षमा १२ वटासम्म चलचित्रमा काम गरिन् ।