‘परिवर्तन’को ट्रेलरमा सुशीलको एक्सन, सिनेमामा के छ ?
काठमाडौं । नेपाली चलचित्र ‘परिवर्तन’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार ट्रेलर सार्वजनिक गरेको हो ।
माघ ९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक ट्रेलरमा एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्वका दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकता पाएको छ ।
ट्रेलरमार्फत अभिनेता सुशील श्रेष्ठलाई सशक्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ । अभिनेत्री अञ्जना बराईलीसँगको केमेस्ट्री पनि देख्न सकिन्छ । अञ्जना प्रहरी इन्पेक्टरको भूमिकामा देखिएकी छन् ।
ट्रेलरमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायतलाई पनि देख्न सकिन्छ ।
निर्देशक विजय केरुङले चलचित्रले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे । उनले भने, “फिल्मको कथाअनुसार नै ट्रेलर तयार गरिएको हो । एक्सनसँगै सामाजिक सन्देश पनि बोकेको यो फिल्मले दर्शकलाई बाँध्ने विश्वास छ ।”
सत्ताका लागि नेताले जे सुकै पनि गर्न सक्छन् भने कुरालाई चलचित्रको पर्दामा देखिने उनले बताए ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’मा सुशील श्रेष्ठ र अञ्जना बराईली का अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे को मुख्य भूमिका रहेको छ ।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस चलचित्रको निर्देशन विजय केरुङले गरेका हुन् । दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् ।
फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठको रहेको छ ।



