‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका बालबालिकालाई अभिभावक चाहिने
काठमाडौं । प्रदर्शनको सँघारमा रहेको चलचित्र ‘परिवर्तन’ले सेन्सर पास गरेको छ । आगामी माघ ९ गते शुक्रबारबाट देशभरका हलहरूमा प्रदर्शन हुन लागेको यो सिनेमालाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले ‘पिजी’ सर्टिफिकेट प्रदान गर्दै प्रदर्शनका लागि अनुमति दिएको हो ।
सेन्सर बोर्डको यो निर्णयसँगै अब १६ वर्ष मुनिका दर्शकले यो चलचित्र हेर्नका लागि अनिवार्य रूपमा आफ्नो अभिभावकको साथमा जानुपर्नेछ ।
चलचित्रका निर्देशक विजय केरुङका अनुसार यो सिनेमामा समसामयिक राजनीतिक उथलपुथल र केही डरलाग्दा एक्सन दृश्यहरू समावेश भएका कारण बोर्डले पिजी सर्टिफिकेट दिएको हो ।
“हामीले समाजको वर्तमान अवस्था र राजनीतिक परिवेशलाई चित्रण गर्ने प्रयास गरेका छौँ,” निर्देशक केरुङ भन्छन्, “केही दृश्यहरू बाल मस्तिष्कका लागि संवेदनशील हुनसक्ने भएकाले अभिभावकको साथ आवश्यक ठानिएको हो ।”
एक्सन र सस्पेन्स विधामा निर्माण गरिएको यस चलचित्रमा नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराईलीको मुख्य भूमिका रहेको छ । साथै सिनेमामा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता दीपक सिवाकोटी हुन् । निर्माता सिवाकोटीकै कथा रहेको सिनेमाको पटकथा तथा संवाद भने चर्चित लेखक शिवम् अधिकारीले तयार पारेका हुन् ।
चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, एसडी योगीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन रहेको छ । द्वन्द्व निर्देशक श्री श्रेष्ठको कामलाई फिल्मको विशेष आकर्षणको रूपमा हेरिएको छ । आर आर फिल्मस्ले वितरण गर्ने यस चलचित्रलाई ओएसआर डिजिटलले डिजिटल पार्टनरको रूपमा सहकार्य गरेको छ ।



