दीपकका स्टाटस पढेपछि– आफ्नालाई भन्दा राम्रालाई भोट भन्ने हो कि ?
काठमाडौं । दीपकराज गिरी आफ्नो विचार प्रष्टसँग राख्ने व्यक्ति हुन् । राजनीतिक होस् वा सामाजिक विषय, आफ्नो धारणा सामाजिक सञ्जालमार्फत प्रष्टसँग राख्छन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा पनि उनी आफ्नो धारणा राखिरहेका छन् । यसमा पनि उनी करिबकरिब प्रष्ट सुनिइसकेका छन् । यसपटक नयाँ राजनीतिक दललाई आफ्नो समर्थन रहने उनले बताइसकेका छन् ।
उनले व्यक्तिभन्दा समग्रमा दललाई आफ्नो समर्थन रहने भनेर लमसम मै आफ्नो धारणा प्रष्ट पारिसकेका छन् । उनले रास्वपालाई आफ्नो समर्थन रहेको बताइसकेका छन् ।
तर, दीपक भोट कसैलाई माग्दिन भनेर भन्दै गर्दा पनि घुमाउरो तरिकाले भने भोट मागिरहेका छन् । “चुनाव आयो, आफ्ना साथिहरू हरेक पार्टीबाट उठेका छन् र इनबक्समा सहयोगको अनुरोध आउला सबैलाई एकमुष्ट शुभकामना दिएँ है ? परिवर्तनको पक्षमा छु, तर प्रत्यक्ष कसैलाई भोट माग्ने काम गर्दिनँ ।”
कसैलाई भोट माग्दिन अथवा कुन पार्टी भनेर खुल्दिन भनेर भन्न खोज्ने दीपकको यो स्टाटस पढौँ त, “यो चुनावलाई चुनाव होइन, जनमत संग्रहको रूपमा लिनु पर्छ ! जे चलिरहेको थियो त्यो राम्रै थियो । परिवर्तनको नाममा गलत भयो । वा जे चलिरहेको थियो, त्यो ठिक थिएन एकपल्ट नयाँलाइ छानेर रिस्क लिन्छु !” यो स्टाटसले प्रष्टसँग दीपक रास्वपाको पक्षमा रहेको संकेत गर्दैन र ? ।
“अरूको पार्टीको उम्मेदवारको बारेमा गरिएको अनावश्यक टिका टिप्पणीले आफ्नो हाइट र भोट दुवै घटाउँछ,” भन्दै दीपकले केपी शर्मा ओलीले बालेनप्रति गरेको टिप्पणीप्रति लक्षित गर्दै आफ्नो धारणा बालेनको पक्षमा राखेका छन् ।
उनले खुलेरै यसपपटक परिवर्तनपक्षतिर समर्थन रहनेछ भनेर लेखिसकेका छन् । थुप्रै कलाकार यो पटक चुनावमा छन् । प्रत्यक्षमा थोरैले आँट गरे पनि समानुपातिकमा भने ठूलै संख्या छ ।
को कता लाग्ने, कसलाई भोट हाल्ने, कसलाई मत माग्ने, कसलाई जिताउने त्यो व्यक्तिको अधिकारको कुरा हो । तर, बुझ्नु पर्ने चाहिँ आफ्ना र हाम्रा भन्दा पनि राम्राका पक्षमा उभिनुपर्छ । त्यसैले साथी उठे, छिमिकी उठे, नातागोतका मान्छे उठेभन्दा पनि राम्रो को छ भनेर चाहिँ भोट हाल्ने हो कि ? ‘हाम्रालाई भन्दा पनि राम्रा’लाई मेरो भोट भन्ने पो हो कि ?




