बेनिशा भन्छिन्– ‘द ब्ल्यू लाइट’ मन परेर नै निर्माणमा पनि जोडिएँ, श्रृष्टि भन्छिन्– करिअरकै फरक भूमिका हो
काठमाडौं । चलचित्र क्षेत्रमा एउटा फरक विधाको रूपमा हेरिएको मनोवैज्ञानिक थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’ माघ १६ गते (यही शुक्रबार) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ ।
बलियो स्टारकास्ट र आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरू अभिनय रहेको यस चलचित्रले नेपाली सिनेमाको परम्परागत धारभन्दा केही फरक स्वाद दर्शकलाई दिने अपेक्षा गरिएको छ । ‘द ब्ल्यू लाइट’ मा अर्पण थापा, बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, महेश त्रिपाठी र आयुशमान देशराज जोशीको मुख्य भूमिका रहेको छ ।
बेनिशा हमाल नेपाली सिनेमा उद्योगमा अब्बल अभिनय क्षमताका लागि परिचित छन् । बेनिशा जस्तो सुकै भूमिकामा पनि आफूलाई ढाल्न सक्ने अभिनेत्री हुन् ।
मोर्डन शहरिया अभिनेत्री हुन् अथवा गाउँले सोझी–सिधा युवतीको भूमिकामा होस्, उनी सधैँ फिट देखिन्छन् । जस्तोसुकै चरित्रमा पनि ढल्नसक्ने उनै अभिनेत्री बेनिशाको ‘द ब्ल्यू लाइट’ लाई लिएर निकै उत्साहित छिन् ।
बेनिशा यो सिनेमाले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताउँछिन् । “अहिले हामीले हेरिरहेका चलचित्र भन्दा केही फरक छ,” बेनिशा भन्छिन्, “त्यसैले दर्शकले मन पराउनुहुनेछ भन्नेमा हाम्रो टिम विश्वस्थ छ ।”
चलचित्रको कन्टेन्ट र पफर्मेन्स मन परेर नै आफू निर्माणमा पनि जोडिएको उनले प्रष्ट पारेकी छन् । बेनिशा ‘द ब्ल्यू लाइट’को कार्यकारी निर्माता पनि हुन् । साइकोलोजिकल थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’को विषय र प्रस्तुति मुख्य आकर्षण भएको उनले बताएकी छन् ।
यस्तै, अहिलेसम्म सुन्दरी र रोमान्टिक भूमिकामा देखिँदै आएकी अभिनेत्री श्रृष्टि श्रेष्ठ यस चलचित्रमा भने ‘नेगेटिभ’ भूमिकामा देखिँदै छिन् । उनले यसअघि पनि थ्रिलर फिल्म ‘११:५५’ मा काम गरेकी थिइन्, तर ‘द ब्लू लाइट’ को आफ्नो भूमिकालाई आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको बताएकी छन् ।
“यो चलचित्रमा मेरो भूमिका अलि ‘एन्टागोनिस्ट’ (खलपात्र) प्रकृतिको छ । मलाई यस्तै थ्रिलर जनराका फिल्महरूमा रुचाइएको छ, तर ‘द ब्ल्यू लाइट’ को भूमिका र कथा एकदमै गहिरो र फरक छ,” उनले भनिन् ।
“एक कलाकारका रूपमा सधैँ राम्रो र सकारात्मक देखिनु भन्दा पनि यस्ता जटिल र नकारात्मक चरित्र निर्वाह गर्दा धेरै कुरा सिक्न पाइन्छ,” श्रृष्टिले आफ्नो अनुभव सुनाउँदै भनिन्, “निर्देशकको सोच र कथाको गहिराइले गर्दा म यो भूमिकाप्रति आकर्षित भएँ । यो मेरो करिअरकै अहिलेसम्मकै फरक भूमिका हो ।”
चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा, श्रृष्टि र अर्पणका साथै आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
चलचित्र ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । यो उनको पहिलो निर्देशन हो ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।




